‘पुजार सार्की’को ‘जाउँ माया’ गीत सार्वजनिक

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’को ‘जाउँ माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा बी पाण्डेको शब्द रचना, केतन क्षेत्रीको स्वर, सुभाष भुसालको संगीत छ । 

यो गीतको शब्दले समाजले प्रेम अस्विकार गरेपछि नौ डाँडा काटेर जान प्रेमिकालाई आग्रह गरेको भाव दर्साएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू आर्यन सिग्देल र अन्जना बराइलीको प्रेम प्राप्तिमा देखिएको पीडाबोधलाई प्रस्तुत गरिएको छ । 

भिडियोमा केही संवाद पनि हेर्न सकिन्छ । साथमा फिल्मका मुख्य नायक प्रदीप खड्का र नायिका परीक्षा लिम्बुलाई पनि यो भिडियोमा देख्न सकिन्छ । फिल्मका अर्का नायक पल शाह भने भिडियोमा अटाएका छैनन् । 

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा सुभाष भुसालको लगानी छ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन छ ।