फलामको चिउरा चपाए जस्तै भयो, तर सकियो ‘लण्डन टू पेरिस’को छायांकन

फिल्म ‘लण्डन टू पेरिस’को छायांकन सक्नका लागि यसको निर्माणपक्षलाई ‘फलामको चिउरा चपाए जस्तै’ भएको छ । फिल्मको पहिलो सेड्यूलको छायांकन बेलायतमा गरिएको थियो । यसपछि, बाँकी रहेको २० प्रतिशत छायांकन मुम्बईमा गरिएको हो । 

तर, प्राविधिक कारणले बाँकी छायांकन नसकिँदा फिल्म नै रिलिज नहुने हो कि भन्ने चर्चा समेत चलेको थियो । तर, निर्देशक घनश्याम लामिछानेले बाँकी छायांकन पनि पूर्ण रुपमा सकिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

एउटा गीतको आधा भाग र केही दृश्यको छायांकन सकिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक लामिछानेले जानकारी दिए । यो फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू नायक निश्चल खड्काको मुख्य भूमिका छ ।

फिल्मको सम्पादनको सम्पूर्ण काम सकिएपछि प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ । निर्देशक लामिछानेले एक बर्षपछि सम्पूर्ण छायांकन ढिलै गरी राम्रै भएकाले खुशी रहेको बताए । उनले चाँडै नै रोमान्टिक फिल्म दर्शकले हेर्न पाउने बताए ।

फिल्ममा मोडल गरिमा शर्मा र नायक कविर खड्का पनि मुख्य भूमिकामा छन् । पहिले खिचेका दृश्यहरूको डबिङ र कलर समेत भइसकेको निर्माणपक्षले बताएको छ ।

ट्राभल लभ स्टोरी कथामा निर्माण भएको फिल्मलाई बेलायत र मुम्बईमा खिचिएको छ । यो फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ ।