आधा दर्जन फिल्म छायांकनमा, दर्जन बढी निर्माणको तयारी

नेपाली फिल्मको मेकिङ गतबर्षको भन्दा यो बर्ष कम भयो । फिल्म निर्माणको संख्या कम हुँदा पनि केही कलाकारको हातमा भने कामको कुनै अभाव नै भएन । वैशाखदेखि कार्तिकसम्मको सेड्यूल हेर्ने हो भने फिल्म रिलिजको संख्यमा त्यस्तो उत्साह व्यक्त गर्ने ठाउँ छैन । बक्स अफिसमा भने ५ वटा फिल्मले लगानी उठाए । 

तर, यतिबेला आधा दर्जन फिल्महरु छायांकनमा छन् । केही फिल्महरु छायांकनको तयारीमा निर्माता लागेका छन् । केही फिल्महरुले यो बर्ष नै प्रदर्शन मिति तोकेर धमाधम छायांकनको काम गरिरहेका छन् केही फिल्महरुको टार्गेट अर्को बर्षलाई छ । 

फिल्म ‘हात्तीछाप’को असार २४ गतेबाट छायांकन सुरू भएको थियो । सिमोस सुनुवारको निर्देशनमा तयार भइरहेको यो फिल्मले पनि फस्टलुक सार्वजनिक गर्दै माघको २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेको छ । प्रदर्शन मिति घोषणा गरेपनि यो फिल्मको अझै पनि केही प्रतिशत छायाकंन बाँकी नै रहेको बुझिन्छ । यता यस फिल्मका निर्माता किरण नेपाली कार दुर्घटनामा परेर घाइते भएका छन् । यसैले, फिल्मको केही दृश्यको छायांकन तत्काल हुने अवस्था छैन । 

यस्तै, अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’ले छायाकंन अगावै प्रदर्शन मिति घोषणा गरेको थियो । यो फिल्मलाई फागुनको २५ गतेबाट रिलिज गर्ने तयारी निर्माताकोछ । निर्माताले, फिल्म छायांकनमा जानु अगाडि नै अन्तरराष्ट्रिय अधिकार विक्री गरेको हल्ला समेत गर्न भ्याइसकेका छन् । भदौको २७ गतेबाट छायांकन सुरु भएको फिल्मको अझै एक साताको काम बाँकी नै रहेको वुझिएको छ ।

यस्तै, छायांकनकै चरणमा रहेको फिल्म हो ‘मायाबी’ । दिवाकर भट्टराई निर्देशित यो फिल्म कातिकको ४ गतेबाट फ्लोरमा निस्किएको हो । यो फिल्मको छायांकन सकिन अझै केहि दिन लाग्ने निर्माणपक्षले बताएको छ । यो फिल्मको छायांकन पोखरामा भैरहेको छ । 

यस्तै, बासुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्म ‘डिग्री माइला’ पनि छायांकनकै चरणमा छ । यो फिल्मको पहिलो चरणको छायांकन केही समय अघि ओखलढुंगामा गरिएको थियो । यसरी छायांकन दुई चरणमा गर्नुको पछाडि फिल्ममा मुख्य कलाकार दयाहाङ राईको समय नमिल्नु र फिल्मका अर्का कलाकार प्रकाश घिमिरे लडेर घाइते हुनुलाई मानिएको छ । योे फिल्मको प्रदर्शन मिति पनि घोषणा भइसकेको छ । फिल्मलाई नयाँ बर्षमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

यस्तै, निर्देशक मिलन चाम्सले निर्देशन गरिरहेको फिल्म ‘एन्जिला’को पनि छायांकन भैरहेको छ । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर यो फिल्म निर्माण भैरहेको छ । यो फिल्मको छायांकन सक्न अझै एक साता लाग्ने निर्माणपक्षले बताएको छ । फिल्मकोे इलाम र झापाको छायांकन सकिएपनि काठमाडौँमा छायांनन हुनै बाँकी छ । यो फिल्मको कात्तिक १३ गतेबाट छायांकन सुरु भएको थियो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन तयार भैरहेको फिल्म ‘महाजात्रा’को पनि छायांकन जारी छ । कात्तिक १५ गते देखि छायांकन सुरु भएको यो फिल्मको प्रदर्शन मिति चैत ९ गतेलाई तोकीएको छ । फिल्मको काठमाडौंको छायांकन सकेर निर्माणपक्ष तराई झर्नेछ । अहिले ६ वटा फिल्म छायांकनमा छन् । 

यस्तै, फिल्म ‘दान्भी’को पहिलो चरणको छायांकन सकेर निर्माणपक्षले टिजर सार्वजनिक गर्ने तयारी गरेको छ । फिल्मको दोश्रो चरणको छायांकन मंसिरको १५ गतेबाट दार्जिलिङमा हुनेछ । 

यस्तै, फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन आजबाट सुरु गरिएको छ । 

आधा दर्जन फिल्म छायांकनको तयारीमा

एकातिर आधा दर्जन फिल्म छायांकनमा छन् भने यही संख्याको हारहारीमा फिल्मको छायांकनको तयारी गरिएको छ । 

निर्माता रोहित अधिकारीले फिल्म ‘फर्की फर्की’को छायांकन मंसिरको ११ गतेबाट पोखरामा सुरु गर्दैछन् । अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । यस्तै, रोहितले नै सुरेन्द्र पौडेलको निर्देशनमा तयार पार्न लागेको फिल्म ‘बरिष्ठ बलराम’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु गर्ने तयारी गरिएको छ । 

फिल्म ‘लोकल हिरो’को छायांकन पनि सुरु गर्ने तयारीमा निर्माता सरोज न्यौपाने छन् । फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । 

निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’को छायांकन पनि सुरु गर्ने तयारी गरिरहेका छन् । यो फिल्मको प्रि प्रोडक्शनको काम चलिरहेको छ । 

निर्माता तथा निर्देशक सन्तोष सेनले पनि फिल्म ‘बलिदान’को छायांकन सुरु गर्ने तयारी गरिरहेका छन् । अर्को बर्षको दशैंमा रिलिज गर्ने गरि यो फिल्म निर्माण गरिदैछ । फिल्मको शिर्ष भूमिकामा नायक सौगात मल्ल फाइनल भैसकेका छन् । 

दयाहाङ राई र शिल्पा मास्केको मुख्य भूमिका रहने फिल्म ‘कार्साङ’को पनि छायांकन सुरु गर्ने तयारीमा निर्माता छन् ।

निर्देशक बसन्त निरौलाले मुकुन भुषाललाई मुख्य भूमिकामा लिएर काम गर्न लागेको फिल्म ‘ज्वाँई साब’को छायांकन पनि चाडै नै सुरु गर्ने तयारी गरिएको छ । 

कुन–कुन फिल्मको भयो निर्माणको घोषणा

निर्देशक सम्राट बस्नेतको ‘कंगारु’ निर्माणको घोषणा भैसकेको छ । यस्तै, फिल्म ‘महराजधिराज’को निर्देशनको घोषणा निर्देशक परिच्छेद सेनले गरिसकेका छन् । निर्माता तथा कलाकार दीपकराज गिरीले नयाँ फिल्म बनाउने घोषणा गरिसकेका छन् ।

अर्कोतिर, निर्देशक दीपेन्द्र के खनालले नै फिल्म ‘आमा २’ बनाउने पनि पक्का भैसकेको छ । फिल्म ‘पञ्चामृत’ निर्माणको घोषणा गरेर निर्देशक मुस्कान ढकाल प्रि प्रोडक्शनमा व्यस्त छन् । प्रदीप श्रेष्ठको निर्देशनमा फिल्म ‘स्वामी’ बनाउने तयारी पनि गरिएको छ ।

कलाकार सविन श्रेष्ठले ‘बाघचाल’ फिल्मको छायांकन पछि सारेर नयाँ फिल्म बनाउने तयारी गरेका छन् । यस्तै, निर्देशक लक्ष्मण रिजालले नयाँ फिल्म ‘काजी’को छायांकन सुरु गर्ने तयारी पनि गरिसकेका छन् । फिल्ममा विपिन कार्की र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहनेछन् ।

फिल्म ‘उनको स्विटर’को निर्माण घोषणा भैसकेको छ । निर्माता तथा निर्देशक रिमेश अधिकारीले फिल्म ‘कोतपर्व’ निर्माणको घोषणा गरेको केही महिना भयो । फिल्म ‘सिटामोल’ बनाउने तयारी पनि गरिएको छ । 

यसरी हेर्दा, यो वर्षको अन्त्यमा वा नयाँ वर्षबाट दर्जन बढी फिल्मको छायांकन गर्ने तयारीमा मेकरहरु लागेका छन् । जसले गर्दा, नेपाली फिल्म भित्रको चहलपहल निरन्तर अगाडि बढिरहेको छ । 

यो पनि पढ्नुहोस्

अबको ५ महिनामा जम्मा १५ वटा फिल्म रिलिज हुने । अधिकांश फिल्म एउटै मितिमा रिलिज हुँदै छन्, अरु साता भने खाली खाली ।