महानगरले तिरायो ‘बगान’का निर्मातालाई ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘बगान’को निर्मातालाई ५० हजार जरिवाना तिराएको छ । फिल्मको पोष्टर काठमाडौंका  विभिन्न स्थानमा टाँसेको भन्दै महानगरले ५० हजार जरिवाना तिराएको हो । 

फिल्मको पोष्टर टाँसी दृश्य प्रदुषण तथा फोहरमैला गरेवापत महानगरले जरिवाना तिराएको हो । 
फिल्मका निर्माता सुरेश वाग्लेले सामाजिक संजालमा स्टाटस कोर्दै लेखेका छन्–‘बालेनजी, आदिपुरुष हिन्दी फिल्मलाई त रोक्नुभयो । नेपाली फिल्मलाई सहयोग त गर्नु भएन तर अवरोध नगरिदिनुहोला ।’

महानगरपालिकाले फिल्मको प्रचारलाई डिजिटल प्रविधिमा लगेको महिनौं भैसकेको छ । जसकाकारण, कुनै पनि पोष्टर, पम्प्लेट शहरका भित्ताहरुमा टाँस्न पाइदैन । यसअघि पनि पोष्टर टाँसेको भन्दै केही फिल्मका निर्माताहरुलाई महानगरले जरिवाना तिराइसकेको छ । 

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘बगान’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । फिल्मले बक्स अफिसमा कमजोर व्यापार गर्दा निर्माता घाटामा जाने निश्चित छ । 
सरोज खनाल निर्देशित यो फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ ।