अस्ट्रेलियन आइडलमा प्रनेश गौतम

नेपाली कमेडियन प्रनेश गौतमले यस वर्षको अस्ट्रेलियन आइडलमा अडिसन प्रस्तुति दिएका छन् । एक अङ्ग्रेजी गीत गाउँदै उनले दिएको प्रस्तुतिको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

‘म गाउन जाँदै छु ‘आइ विल सर्भाइभ’ जजसँग उनले भनेका छन् । त्यसपछि एक जज भन्छिन्- लेट्स डु इट बेबी ।’ अनि प्रनेश गाउँछन्- यु थिंक आइ ले डाउन एन्ड डाइ, नो नट । आइ विल सर्भाइभ ओ एज लङ एज आइ नो, हाउ टु लभ…..।’

त्यसपछि ती जज भन्छिन्- अरू थप ? उनको प्रस्तुति हास्य शैलीले प्रेरित देखिएको छ । प्रनेशको प्रस्तुतिमा अर्का जज भन्छन्- यो मैले अहिलेसम्म सुनेको सबैभन्दा खराब भर्सन भने हो ।’

प्रस्तुतिमा प्रनेशको आत्मविश्वास भने देखिएको छ । सामाजिक सञ्जालमा उनको प्रस्तुति र आत्मविश्वासको प्रशंसा भएको छ । फेब्रुअरी २ देखि अस्ट्रेलियन आइडलको तेस्रो संस्करणको प्रसारण च्यानल सेभेनमा सुरु भएको छ । मार्सिया हाइन्स, एमी शार्क र काइल स्यान्डिल्यान्ड नयाँ सिजनमा पनि निर्णायकको रूपमा छन् ।