भुटनिजहरुको कथामा ‘ल्हो–छाम्पा’ निर्माण हुने
सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ नामक फिल्म बन्ने भएको छ । यो फिल्मले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई प्रस्तुत गर्नेछ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो ।
यो फिल्मलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत नेपाली गीत संगीत र कलाका विविध विधामा योगदान गरिरहेका छन् ।
निर्माता सुवेदीले आफूले भोगेको काल बेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ फिल्म निर्माणमा अग्रसर भएको प्रतिक्रिया दिएका छन् ।
‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरेका हौँ । तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौँ, सुवेदीको भनाइ छ ।
यो फिल्मलाई नरेश कुमार केसीले निर्देशन गर्नेछन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ निर्देशन गरिसकेका छन् ।
‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पच्छ्याइरहन्छ । यो फिल्मले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ । सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ’,नरेशले बताए ।
यो फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा, अर्जुनको पोखरेलको संगीत रहने पक्का भइसकेको छ । फिल्मका लागि अन्य कलाकार र प्राविधिकको टुंगो लागेको छैन । फिल्मको छायांकन वैशाखको दोस्रो सातादेखि हुनेछ ।
प्रतिक्रिया