सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि
‘मिस्टर नेपाल २०२४’को उपाधि सन्तोष लोक्समले जितेका छन् । शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित कार्यक्रममा झापाका सन्तोषले प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेका हुन् ।
उनले अब आगामी नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालका प्रतिनिधित्व गर्नेछन् । विजेता सन्तोषले उपाधिसँगै ५ लाख बराबरको विभिन्न पुरस्कार समेत जितेका छन् । यस्तै, प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल’को रुपमा छानिए ।
उनले, आगामी अक्टुबरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै, काठमाडौंका आयुष दुलाल ‘म्यान अफ द वर्ल्ड नेपाल’ चयन भए ।
योगेश र आयुषले ३ लाख बराबरको उपहार प्राप्त गरे । प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट रनरअप र हेटौडाका आयुष बमजन सेकेन्ड रनरअप हुन सफल भए ।
नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, सांकृतिक पृष्ठभूमि र आत्मविश्वाससँग यो प्रतियोगिता जोडिएको छ । प्रतियोगितामा देशभरका ३८ जना युवाहरूको सहभागिता थियो ।
कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्रकारको कोरियोग्राफी रहेको प्रतियोगितामा राजभाई सुवाल, टीकाराम वुढाथोकी, नीति शाह, माल्भिका सुब्बा, नम्रता श्रेष्ठ, डाक्टर रुपक घिमिरे, सन्दिप पोखरेल निर्णायकको रुपमा थिए ।
प्रतिक्रिया