‘कलेजी कटाउन्या माया’मा कविता, जोन, चक्र

मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत 'कलेजी कटाउन्या माया' सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युट्युब च्यानल 'नेपमेलो' बाट सार्वजनिक गरिएको हो।

भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियो साँच्चै नै कलेजी काट्ने खालको छ । यो गीत आजभन्दा करिब १० वर्ष अगाडि गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो। विशेषगरी, सुदूरपश्चिमका ९ जिल्लाहरूमा यो गीतले तहल्का मच्चायो ।

गीतले दर्शकको अपार सफलता र माया पाएपछि गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन।  गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन। यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन।

निर्माण टिमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् ।