ज्योती मगरको आक्रोश–‘न लोकगीत तिम्रो बिर्ता हो, न युट्युब’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले युट्युबमा दोहोरीको नाममा अश्लीलता बढेको भन्दै कलाकारहरूसँग स्पष्टीकरण लिइरहेको छ । साथै, युट्युबमा छाडा दोहोरी गीत सार्वजनिक नगर्न पनि चेतावनी दिइरहेको छ । 

यो बिषयमा विभिन्न प्रकारका टिका टिप्पणी भइरहेको छ । यसैबिच, प्रतिष्ठानको यो कदममा गायिका ज्योती मगरले आक्रोश पोखेकी छिन् ।

सामाजिक संजालमा लामो स्टाटस लेख्दै उनले युट्युब र लोकगीत कसैको बिर्ता नभएको उल्लेख गरेकी छिन् । ज्योतीले नयाँ जेनेरेशनलाई दिएको धम्की र यो खालको फन्डा आफूलाई चर्चामा ल्याउने बहाना मात्र भएको तर्क गरेकी छिन् । 

ज्योती अगाडि लेख्छिन्–‘ग्लोबलाइजेसनको यो युगमा गुगल र युट्युबको नियमले क्लिएर नेपाली समाजमा केलाई अश्लील मान्ने र केलाई श्लिल मान्ने भन्ने कुरा स्पष्ट गरिदिएको छ । कुनै पनि देशको संविधानलाई मध्यनजर गरि गुगलले त्यस देशको डिजिटल प्लेटफर्ममा मापदण्ड तयार गर्दछ र सो मापदण्ड मिचेर नाङ्गा भिडियो अपलोड गर्ने अश्लील हर्कत गर्नेहरूका भिडियो युट्युब आफैले हटाइदिन्छ ।’

ज्योतीले लोकदोहोरी प्रतिष्ठान एउटा संगठन मात्र भएको भन्दै राज्य नै बन्न नखोज्न चेतावनी दिएकी छिन् । मीठा शब्दको माला उनेर बोल्दैमा संस्कारी नभइने तर्क ज्योतीको छ । 

ज्योतीले नेपाली कलाकारहरूले युट्युब च्यानल चलाएर देशमै केही गर्न खोजिरहेको समयमा लोकदोहोरी प्रतिष्ठानले पेटमा लात हान्न खोजेको भन्दै ‘तिमी को हो ?’ भनेर प्रश्न गरेकी छिन् । उनले, प्रतिष्ठानका सदस्यहरूलाई कलाकारहरूको चर्चासँग जलन भएको आरोप समेत लगाएकी छिन् । 

उनले अगाडि लेखेकी छिन्–‘न लोकगीत तिम्रो बिर्ता हो, न त युट्युब तिम्रो बिर्ता हो । स्वतन्त्र देशको नागरिकले आफ्नो मनखुसी केही काम गरेर पेट पाल्दा भत्किहाल्ने तिम्रो अनुशासन अनि परम्परा–त्यो परम्परा जोगाउने ठेकेदार तिमी ? अरे वाह । अरूलाई अनुशासनमा राख्न भन्दै तिमीले गरेको यो लफडा आफूलाई चर्चामा ल्याउने र न्यूजमा रहिरहने फन्डा बाहेक केही पनि होइन ।’