शो बाँडफाँडमा च्यापियो नीतिको ‘खजुरे ब्रो’

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’लाई नेपालका हलहरुले न्यून शो दिएका छन् । सुरज सुनुवारको निर्देशनमा तयार भएको फिल्मले अधिकांश हलमा एक शो मात्र पाएको छ । नेपालगञ्जको क्यूएफएक्स हलले २ शो दिनु बाहेक अधिकांश हलले एक शोमा सीमित राखेका छन् । जसकाकारण, फिल्मलाई सुखद ओपनिङ गर्न गाह्रो पर्ने देखिन्छ । 

यो फिल्मबाट नायिका नीति शाहले डेब्यू गर्दैछिन् । फिल्ममा उनको साथमा रेअर राई, महेश त्रिपाठी, नबिन मानन्धर लगायतका कलाकारको अभिनय छ । 

फिल्मको काठमाडौं र धरानमा प्रिमियर समेत आयोजना भइसकेको छ । प्रिमियरमा फिल्मको कथावस्तु र कमेडी कथालाई सकारात्मक प्रतिक्रिया मिलेको थियो । 

तर, प्रदर्शकहरुले भने फिल्ममाथि विश्वास नगरेको देखिन्छ । अब, फिल्म हेर्ने दर्शकबाट नै  यसको बलियो वर्ड अफ माउथको आवश्यक छ । वर्ड अफ माउथ राम्रो आएको खण्डमा मात्र फिल्मको शो बड्न सक्नेछ । 

नायिका नीति शाहले यो फिल्ममा आफूले शत प्रतिशत काम गरेको बताउँदै आएकी छिन् । फिल्मलाई लिएर उनमा उत्साह देखिएको छ ।