‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाशपछि मुकुनको इन्ट्री

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकार मुकुन भुसालको प्रवेश भएको छ । निर्माणपक्षले तस्विर सार्वजनिक गर्दै फिल्ममा मुकुनले काम गर्ने पक्का भएको जनाएको छ । 

फिल्म ‘बुलबुल’मा काम गरेपछि मुकुनको चर्चा राम्रै चलेको छ । यसपछि, उनले काम गरेका फिल्महरू कुनै हिट र केही फ्लप पनि भएका छन् । तर, पनि उनी निरन्तर फिल्ममा काम गरिरहेका छन् । यो फिल्ममा यस अगाडि गायक प्रकाश सपुत र कलाकार विजय बराल फाइनल भइसकेका छन् ।

अन्तराष्ट्रिय फिल्म वितरण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अगाडि लिखित संझौता भएको बताएको छ । फिल्ममा मुकुनको भूमिका के हो भन्ने विषयमा केही पनि खुलाइएको छैन । फिल्मका निर्माता विनोद पौडेलले मुकुनले आफूहरूले कल्पना गरेको पात्रमा खरो रुपमा काम गर्ने देखेर नै अनुबन्धित गरिएको बताए ।

सोसल–ड्रामा कथामा बन्ने यो फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीका साथ यो फिल्मका लागि कलाकार फाइनलको काम अगाडि बढिरहेको छ । 

फिल्ममा अनुबन्धित भएपछि मुकुन उत्साहित छन् । एउटा कलाकारमा राम्रो चरित्रको भोक सधैं रहने भन्दै उनले यसपटक यो फिल्ममा आफूले खोजे जस्तो भूमिका पाएको बताए । 

फिल्ममा निर्मात्रीको रुपमा केकी अधिकारीले काम गर्न लागेको चर्चा चलेपनि निर्माणपक्षले केही पनि बोलेको छैन । यो फिल्मलाई आउँदो बर्ष मात्र रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको यो फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ ।