भुवन र मनोजबिच सहकार्य हुन लागेको हो ?

नायक भुवन केसी विगत डेढ बर्षदेखि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा छन् । यसैले, उनले निर्माण गर्ने भनिएका फिल्महरू पनि पाइपलाइनमा अड्किएर बसेका छन् । उनले, संभवत अब फिल्म ‘पारस’ निर्माण गर्न सक्नेछन् । 

तर, यही बीचमा स्क्रिप्ट डाक्टरको रुपमा चर्चित बनेका निर्देशक मनोज पण्डितले एक तस्विर पोष्ट गर्दै लेखे–‘सुपरस्टार नेपाली बाबुले नेपाली फिल्म क्षेत्रलाई अर्को रोमाञ्चक सिनेमा दिनुहोला जस्तो छ । आशाको किरण देखियो ।’

मनोजको यो स्टाटसपछि यी दुइबिच ‘पारस’ भन्ने फिल्मका लागि सहकार्य हुन लागेको त होइन भन्ने अड्कलबाजी चलिरहेको छ । 

तर, नायक तथा निर्माता भुवन केसीले भने मनोज पण्डितले नयाँ स्क्रिप्ट सुनाएको बताए । उनले भने–‘मनोज पण्डितसँग एउटा राम्रो कथा रहेछ । उहाँले सोही कथा एकपटक सुनाउन खोज्नु भएकाले भेट भएको हो ।’

भुवनले अहिले नै काम गर्ने वा नगर्ने विषयमा केही पनि कुरा नभएको बताए । निर्माता केसीको पाइपलाइनमा ‘पारस, माइतीघर २’ लगायतका फिल्म छन् । यता, नायक अनमोल केसी भने फिल्म ‘पारस’का लागि उत्साहित रहेको वुझिएको छ ।