धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ बाट रिलिजमा आउने

नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई असोजको ३ गतेबाट नेपालसहित विभिन्न देशमा रिलिज गरिने घोषणा यसको निर्माणपक्षले गरेको हो ।

फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु गर्दै निर्माणपक्षले प्रदर्शन मिति पनि फाइनल गरेको हो । फिल्मका निर्देशक अशोक थापा मगरले बिहिबारबाट छायांकन सुरु भएको जानकारी दिँदै मैकोट, टकसेरा र कास्कीमा फिल्म खिचिने बताए ।

मगर समुदायको परिवेशमा निर्माण हुन लागेको यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ । एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा निर्देशक मगरले नै लेखेका हुन् । 

फिल्ममा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगरको लगानी छ । फिल्ममा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सह–निर्माताको रुपमा छन् भने मोहन राई फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ ।