यस्तो छ ‘आँखा’को फस्टलुक

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फस्टलुक रिलिज गरिएको छ । लामा सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्मलाई असारको १४ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ ।

जौन योञ्जनको निर्देशनमा तयार भएको यो फिल्मको पोस्टरमा सबै कलाकारलाई स्थान दिइएको छ । फिल्मको फस्टलुकमा आँखा भित्र कलाकारहरूलाई स्थान दिइएको छ भने सूर्यमुखी फूललाई समेत जोडिएको छ । मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन बाँकी रहेको भन्दै यो फिल्म तयार पारिएको निर्देशकले बताएका छन् ।

रोयल भीमसेनले तयार पारेको पोस्टरमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतका कलाकारको अभिनय छ ।

स्मिता लामिछाने निर्माता रहेको यो फिल्ममा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा दीपक आरजेको संगीत, रेवन्तविक्रम थापाको एक्सन छ ।