‘पुर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुवन्धित

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माणपक्षले सपुतसँग संझौता गरेको जानकारी दिएको छ । सपुतको भूमिकाको बारेमा अहिलेसम्म केही पनि खुलाइएको छैन । 

जेठको दोस्रो साताबाट छायांकनमा जाने यो फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन् । निर्माणपक्षले केही दिन अगाडि मात्र फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । यो फिल्मलाई सामाजिक कथामा निर्माण गरिनेछ ।

यो फिल्ममा कलाकार विजय बराल पनि अनुबन्धित भइसकेका छन् । विजय र प्रकाशलाई राखेर निर्माणपक्षले एक गहन विषयलाई उठान गर्न लागेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । 

सेभेन सिजको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ । फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् । 

गायकबाट नायक बनेका सपुतले गतबर्ष फिल्म ‘परदेशी २’बाट फिल्म क्षेत्रमा पाइला राखेका थिए । फिल्मका गीतमा निरन्तर काम गर्दै आएका सपुतले अब दोस्रो फिल्मको रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गर्न लागेका हुन् ।