निर्माता संघ अध्यक्षले विर्सिए मर्यादा, रेखालाई गाली गरेर फिल्म चल्छ ?

फिल्म ‘काँडेतार’का निर्माता, निर्देशक तथा लेखक नवल खड्काले नायिका रेखा थापा र उनले निर्माण गरेको फिल्म ‘उपहार’माथि आज आयोजित एक कार्यक्रममा आक्रोश व्यक्त गरे । फिल्म ‘काँडेतार’को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो फिल्मसँग जुधाउन ल्याएको भन्दै रेखामाथि आक्रोश पोखेका हुन् । 

उनको आक्रोश फिल्म ‘उपहार’ माथि मात्र नभएर रेखाको व्यक्तिगत जीवनसँग पनि थियो । नवलले भने–‘देशलाई माया नगर्नेहरु, देशलाई डेरा बनाउन चाहनेहरु नै फिल्म जुधाउन आएका छन् । उहाँहरू कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ पत्ता लगाउनुहोस् । उनीहरू कोबाट संचालित छन् ? हामी यही देशमा बस्न पर्छ, सन्तान यही  जन्माउन पर्छ र यो देशलाई सुनौलो भविष्य सुम्पन पर्छ भन्ने मान्छे हौँ । हामी पलायन हुने वा कुनै अमुक देशमा गएर बच्चा जन्माउने र नागरिकता लिनेमा पर्दैनौँ ।’

नवलले रेखाको नाम नलिई उनीमाथि आक्रोश पोखे । तर, आक्रोश पोख्दै गर्दा उनले रेखाको व्यक्तिगत जीवनमा पनि प्रवेश गरेका छन् । नवल खड्काको फिल्मसँग अरु फिल्म रिलिज हुनै नहुने हो भन्ने कदापि हुँदैन । अझ, नवल त नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् ।

उनले यस्ता बिषयहरुलाई मिलाएर लैजानुपर्नेमा आफ्नै सहकर्मीहरुको व्यक्तिगत जीवनमा प्रवेश गरेर देशको माया नै नभएको ‘काइते’ भन्ने शब्द प्रयोग गर्नु लाजमर्दो नै छ । यसले, नवल खड्का कसरी निर्माता संघको अध्यक्ष पदमा बस्न लायक छन् भन्ने प्रश्न समेत उब्जाएको छ । 

नवलले अगाडि भनेका छन्–‘मैले एक बर्ष अगाडि नै सेन्सर गरेर प्रदर्शन मिति तोकेको हो । मसँग सेन्सर नै पास नभएका फिल्महरू जुध्न आएका छन् । भनेपछि, उहाँहरू कहाँबाट संचालित हुनुहुन्छ, उहाँहरूको चाहना र यो देशप्रतिको दायित्व कत्तिको बोध गर्नु भएको छ ? राज आउ देश बचाउ भन्नेहरूसँग म कुनै पनि बहस गर्न चाहन्नँ ।’

निर्देशक तथा कलाकार खड्काले आफ्नो फिल्मसँग जुध्नेहरू अरूबाट नै संचालित भएको मिथ्या आरोप लगाएका छन् । निर्माता संघको अध्यक्ष जस्तो व्यक्तिले यती तल्लो स्तरको कुरा गर्नु आफैंमा दुखलाग्दो कुरा हो । बर्षमा दर्जनौं फिल्म बनिरहेको समयमा एउटासँग अर्को जुधिरहेका छन् । तर, नवलको फिल्मसँग जुधाउने कसरी देश विरोधी हुन सक्छन् ? के नवलको फिल्मसँग अरु फिल्म रिलिज हुनै नहुने हो र ?

नवल खड्का बोलीमा लगाम लगाएर हिंड्न् नसक्ने मानिस हुन् । उनी मिडियाबाजी गर्न खुबै रमाउँछन् । बेतुकका कुरा गरेर प्रचारबाजी गर्ने र हरेक पटक फिल्म बनाउँदा आफ्नो ज्यान नै जोखिममा छ भनेर हावा गफ दिने बानी उनको पुरानै हो । यसपटक पनि उनले यो गफ दिन भ्याएका छन् । 
चलचित्र सेन्सर बोर्डबाट पास भइसकेको फिल्म ब्यान्ड भइरहेको छ भन्दै उनी हौवा फिजाइरहेका छन् । 

नवल खड्कालाई हाम्रो सुझाव, रेखा थापालाई गाली गरेर वा देशभक्तिको चर्को भाषण गरेर मात्र फिल्म चल्दैन । फिल्मको कथावस्तु र प्रस्तुतिले दर्शकलाई तान्यो भने आधा दर्जन फिल्म जुधेपनि चल्छ । पहिले आफ्नो विषयवस्तुमा विश्वास गर्न आवश्यक छ । अर्कोतिर, रेखा थापाले बच्चा जन्माउन नेपाल रोजुन् या अरु कुनै देश, यसमा ‘काँडेतार र उपहार’ एकसाथ रिलिज हुनुको कनेक्शन कसरी भयो ?

निर्माता संघका अध्यक्षले आखिर बोलीमा लगाम कहिले लगाउलान् ? आफ्नै सहकर्मीको इज्जत राम्रोसँग गर्न नजान्ने र देश विरोधी भन्ने नवलले सिंगो निर्माताहरुको हितका लागि काम गर्न सक्लान् भनेर पत्याउने आधार के छ ?