फिल्म निर्माण बढेसँगै नायिकाहरुको व्यस्तता पनि बढ्यो

यो बर्ष रिलिजमा आउने फिल्मको संख्यामा केही कमी आएतापनि आउँदो बर्ष नेपाली फिल्म रिलिजका लागि ठूलै भिडन्त हुने देखिएको छ । आउँदो बर्ष हिट फिल्मका सिक्वेलदेखि स्टार कलाकारहरूको फिल्म रिलिज हुँदै छन् । फिल्म निर्माणको संख्या ह्वात्तै बढेको छ । 

फिल्म रिलिजको संख्या बढेसँगै नेपाली फिल्मका नायिकाहरूको व्यस्तता पनि चुलिएको छ । नाम चलेका अधिकांश नायिकाहरूको हातमा फिल्मको लाइनअप लामो छ । 

नायिका स्वस्तिमा खड्काले दुई वटा फिल्ममा काम गर्ने पक्का जस्तै छ । उनी, चाँडै नै फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दैछिन् । यो फिल्मको हाल वर्कशप चलिरहेको छ । यस्तै, निर्देशक निश्चल बस्नेतले एक्सन फिल्म बनाउने घोषणा गरिसकेका छन् । यसमा पनि, स्वस्तिमा हुने निश्चित जस्तै छ । स्वस्तिमालाई अन्य केही फिल्मबाट अफर आएपनि उनले साइन गरिसकेकी छैनन् । 

नायिका मिरुना मगरको व्यस्तता पनि चुलिएको छ । उनको हातमा पनि फिल्मको अभाव नै छैन । उनले अभिनय गरेको ‘जारी र नांगो गाउँ’ यो बर्ष रिलिजमा आइसकेका छन् । मिरुनाको यो बर्ष नै फिल्म ‘रंगेली’ फागुनको २५ गतेबाट रिलिजमा आउँदैछ । उनको विशेष भूमिका रहेको फिल्म ‘हात्तीछाप’ पनि माघ २६ गतेबाट रिलिजमा आउँदैछ । 

मिरुना हाल फिल्म ‘मनसरा’को छायांकनमा व्यस्त छिन् । यो फिल्म सकेपछि उनले ‘घर ज्वाँई’को छायांकन सक्नुपर्नेछ । यो फिल्मको वर्कशप सुरु भइसकेको छ । यस्तै, मिरुनाले फिल्म ‘उनको स्विटर’ पनि साइन गरिसकेकी छिन् । मिरुनाले नै अभिनय गर्ने अर्को फिल्म ‘लोकल हिरो’को छायांकन वैशाखबाट गर्ने तयारी निर्माताको छ । उनको हातमा फिल्मको लाइनअप लामो छ । 


अर्की नायिका आँचल शर्माको हातमा पनि फिल्मको लाइनअप लामो देखिएको छ । आँचलले ‘डिग्री माइला’को छायांकन सकेकी छिन् । अब, उनी फिल्म ‘एक मुठ्ठी बादल’को तयारीमा छिन् । यो बाहेक उनले ‘राजमहल, दुःखी आत्मा, पिताम्बर’ साइन गरिसकेकी छिन् । यस्तै, उनले फिल्म ‘बर एण्ड बधु’को बाँकी रहेको छायांकन पनि सक्नुपर्नेछ । 

नायिका पूजा शर्माले अब केही दिनमा फिल्म ‘दान्भी’को बाँकी रहेको छायांकन सिक्किम पुगेर पुरा गर्ने तयारी गरेकी छिन् । यस्तै, उनी अभिनीत फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिजमा आउँदैछ । यो बाहेक पूजा नयाँ फिल्मको तयारीमा जुटिरहेको वुझिएको छ । 

नायिका बेनिशा हमाललाई पनि भ्याई नभ्याइ छ । उनले, फिल्म ‘सिटामोल’को छायांकन काभ्रेमा सुरु गरिसकेकी छिन् । उनी अभिनीत फिल्म ‘उपहार’ रिलिजको तयारीमा छ । यस्तै, बेनिशाले ‘बिजुली, झ्यानाकुटी २, कोतपर्व’ लगायतका फिल्ममा पनि काम गर्दैछिन् । 

नायिका वर्षा राउतले फिल्म ‘महाजात्रा’को छायांकन सकाएकी छिन् । यो फिल्म चैत्रको ९ गतेबाट रिलिजमा आउँदैछ । यसपछि, उनले फिल्म ‘अवतार’मा पनि काम गर्ने पक्का भइसकेको छ । यस्तै, वर्षाले फिल्म ‘तेल भिसा’ पनि साइन गरिसकेकी छिन् ।  


नायिका वर्षा सिवाकोटीको लाइनअपमा पनि ३ वटा फिल्म छ । उनले फिल्म ‘मोदीबेनी’को छायांकन मंगलबारबाट सुरु गरेकी छिन् । यसपछि, उनले फिल्म ‘झिल्को र काजी’मा काम गर्दैछिन् । 

नायिका जसिता गुरुङले फिल्म ‘फर्की फर्की’को छायांकन गरिरहेकी छिन् भने अर्की नायिका उपासना सिंह ठकुरी फिल्म ‘खुस्मा’को छायांकनमा व्यस्त छिन् । उनले अभिनय गरेको फिल्म ‘हात्तीछाप’ रिलिजको तयारीमा छ । यस्तै, उनले र्‍यापर भिटेनसँग हरि हुमागाँइले निर्देशन गर्ने फिल्म पनि साइन गरिसकेकी छिन् । 

नायिका मलिका महतको पनि दुई वटा फिल्म रिलिजको तयारीमा छन् । उनले अभिनय गरेको फिल्म ‘अगस्त्य’ र ‘सतीदेवी’ रिलिजका लागि तयार भइसकेका छन् । नायिका अन्जना बराइलीको व्यस्तता पनि बढेको छ ।

अन्जनाले अभिनय गरेको फिल्म ‘चित्रा’ पौष २७  गते रिलिजमा आइसकेको छ । यस्तै, उनी मंगलबारबाट फिल्म ‘पुजार सार्की’को छायांकनमा जोडिएकी छिन् । वुझिएअनुसार, शंकर कार्कीले निर्देशन गर्ने नयाँ फिल्ममा पनि अन्जना आबद्ध भइसकेकी छिन् । 

नायिका आना शर्माको हातमा पनि दुई वटा फिल्म छ । उनले, फिल्म ‘एक्टर र जेरी अन टप’ साइन गरेकी छिन् । यी दुवै फिल्मको छायांकन आउँदो बर्षबाट सुरु हुनेछ । नायिका सुरक्षा पन्त अहिले नाटकमा व्यस्त छिन् । उनले पनि फिल्म ‘पिताम्बर’ साइन गरिसकेकी छिन् । 

नेपाली फिल्म क्षेत्रका अधिकांश नायिकाहरूको हातमा फिल्मको लाइनअप बलियो बनेको छ । अझै, केही फिल्महरू निर्माणको घोषणा हुने तयारीमा रहेकाले यी नायिकाहरू नै व्यस्त हुने पक्का जस्तै छ । नायिकाहरूको यो व्यस्तताले पनि नेपाली फिल्मको मेकिङ कसरी बढेको छ भन्ने थाहा हुन्छ ।