धमाधम फिल्म साइन गरेका प्रदीपले सेड्यूल कसरी मिलाउँछन् ?

नायक प्रदीप खड्काले धमाधम फिल्म साइन गरिरहेका छन् । प्रदीप आफैले फिल्म ‘ऐरी’ पनि बनाउँदैछन् । यसरी हेर्दा, प्रदीपको हातमा फिल्मको लाइनअप लामो छ । 

प्रदीपले मङ्गलबारबाट फिल्म ‘पुजार सार्की’को छायांकन सुरु गर्दैछन् । पोखराबाट यो फिल्मको छायांकन सुरु हुन लागेको हो । 

यो फिल्मको छायांकन सेड्यूल सकिएपछि प्रदीपले फिल्म ‘ऐरी’को लागि समय दिदैछन् । यो फिल्मको छायांकन फागुनको अन्तिम वा चैत्रबाट सुरु हुने प्रदीपको भनाई छ । यो फिल्मका लागि उनले एक्सनको तालिम लिइरहेका छन् । 

प्रदीप ‘ऐरी’को छायांकन सकेपछि फिल्म ‘एक्टर’को तयारीमा लाग्नेछन् । यो फिल्म पनि उनले साइन गरेको केही हप्ता भइसकेको छ । 

प्रदीप भन्छन्–‘फिल्म मैले केही महिना अगाडि नै साइन गरिदिँदा मेकरले पनि प्रि प्रोडक्शनको काम गर्न सक्नुहुन्छ जस्तो लाग्यो । यसरी काम गर्दा मैले पनि अरु फिल्मको काम गर्न पाएँ ।’

प्रदीपले ‘एक्टर’पछि भने जुन फिल्मको प्रि प्रोडक्शनको काम सकिएको हुन्छ, त्यसैको छायांकन सुरु गर्ने बताए । उनले, फिल्म ‘पिताम्बर’ आज साइन गरेका छन् । यो फिल्मका लागि कृषालाई हुस्सु, गर्मी र पानीको मौसम चाहिन्छ । यसैले, कृषाले विभिन्न सेड्यूलमा फिल्मको छायांकन गर्ने तयारी गरेकी छिन् । 

प्रदीपका अनुसार, उनले निर्देशक सुदर्शन थापाको फिल्ममा पनि काम गर्दैछन् । उनले सुदर्शनलाई असार महिनाको समय दिएका छन् । यसैले, अब सुदर्शन र कृषामध्ये जसको फिल्मको प्रि प्रोडक्शनको काम सकिएको हुन्छ, उसैको फिल्ममा काम गर्ने योजना उनको छ । 

यसरी हेर्दा, प्रदीपको पाइप लाइनमा पाँच वटा फिल्म छ । जसमध्ये, उनले ‘पुजार सार्की, ऐरी र एक्टर’को छायाङ्कनलाई क्रमशः सक्ने योजना बनाएका छन् । 

कुनै समय बर्षमा एउटा फिल्म पनि नगर्ने प्रदीप अहिले भने मेकरका राम्रो अफरलाई नछाड्ने सोचमा छन् । उनी बदलिएसँगै फिल्म क्षेत्रका मेकरलाई काम गर्न पनि सहज हुन थालेको छ ।