मुनाफाको आशामा नेपालमा रिलिज हुँदै ‘हनुमान’, तर पाइरेट भिडियोले डुबाउन सक्छ

कहिलेकाहीं बलिउड तथा साउथका फिल्मले नेपाली वितरकलाई राम्रैसँग झुक्याउँछन् । नाम चलेका स्टार नहुँदा नेपाली वितरक त्यस्ता फिल्ममाथि लगानी गर्न चाहँदैनन् । तर, फिल्म रिलिजपछि बढ्ने मागले उनीहरूमा मुनाफाको लोभ पलाउँछ र उनीहरू नेपालमा रिलिजका लागि हारिन्छन् ।

फिल्म ‘ट्वेल्थ फेल’को अवस्था पनि यस्तै भयो । यो फिल्म ओटीटीमा आउँदासम्म पनि खासै चर्चामा थिएन । तर जब यसलाई गैह्र कानुनी तबरबाट युट्युबमा अपलोड गरियो, यसपछि भने नेपालमा यसले तरंग नै ल्यायो । नेपाली वितरकलाई प्रदर्शकहरुले रिलिज गर्न आग्रह गरे । तर, त्यतिबेलासम्म निकै ढिला भएको थियो ।

अहिले साउथको फिल्म ‘हनुमान’को कथा पनि यस्तै छ । यो फिल्मले हिन्दी डबमा समेत राम्रो कमाई गर्न थालेपछि नेपाली वितरकहरुमा मुनाफाको लोभ पलाएको छ । यो फिल्मलाई वितरक मनोज राठी र उनको टिमले आउँदो शुक्रबारदेखि नेपालमा रिलिज गर्दैछ । जनवरी १२ मा रिलिज भएको यो फिल्मले हालसम्म करिब ५५ करोड भारु कलेक्सन गरिसकेको छ । प्रशान्त वर्माद्वारा निर्देशित यो फिल्ममा तेजा सज्जासँगै अमृता अय्यर, वरलक्ष्मी शरतकुमार, विनय राई र राज दीपक शेट्टी मुख्य भूमिकामा छन् ।

नेपालमा फिल्म वितरण गर्न लागेका वितरक मनोज राठीले मेरो फिल्मसँग भने–‘हामीले यो फिल्मको प्रत्येक टिकट विक्रीबाट वितरकलाई आउने शेयरको ५ रूपैयाँ उत्तर प्रदेशको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरमा खर्च गर्नेछौं । यसका लागि हामीले हरेक दिन फिल्मको कलेक्शन समेत सार्वजनिक गर्ने तयारी गरेका छौँ । जनकपुरमा रहेको जानकी मन्दिरमा हामीले रकम हस्तान्तरण गर्नेछौं । त्यहाँबाट रकम अयोध्यामा पुग्नेछ ।’

अवैध साइटबाट दर्शकले हेरिसके फिल्म

नेपालमा यो फिल्म रिलिज गर्ने तरखर वितरकले गरिरहँदा धेरै नेपाली दर्शकले यो फिल्म खोजी–खोजी हेरिसकेका छन् । थुप्रै अवैधानिक साइटमा पुगेर नेपाली दर्शकले एचडी क्वालिटीमा यो फिल्म हेरिसकेका छन् । यो फिल्म ओटीटीमा त रिलिज भएको छैन । तर, पाइरेट भिडियोका कारण दर्शकको मोबाइलसम्म पुगिसकेको छ । यसैले, भारतमा शुक्रबारदेखि रिलिजमा आएको यो फिल्म एक साता ढिलो नेपालमा रिलिज हुँदा, त्यसले बक्स अफिसमा कस्तो प्रभाव पार्छ हेर्न बाँकी छ ।

फिल्म पिआर मुभिज डट ट्रेड, द मुभिज् मुड डट ओआरजी, रिकजोन डटकम, मल्टी मुभिज डट सप, एम भेगा मुभिज लगायतका साइटहरुमा अवैधानिक रुपमा उपलब्ध छ ।