बरिष्ठ बलरामः चैत्रबाट छायांकन, दिव्या नेपाल आउँदै

रोहित अधिकारीको निर्माणमा सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को छायांकन चैत्रबाट सुरु हुने भएको छ । फिल्मका निर्माता रोहित अधिकारीले चैत्रबाट छायांकन सुरु हुने गरि फिल्मको तयारी थालिएको बताए । रोहित अहिले फिल्म ‘फर्की फर्की’को निर्माणमा पनि व्यस्त छन् । 

यो फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछानेले काम गर्दैछन् । फिल्ममा खगेन्द्रको जोडीको रुपमा दिव्या रायमाझीले काम गर्दैछिन् । दिव्या यो फिल्मका लागि केही समयपछि नेपालमा आउँदैछिन् । 

दिव्या रायमाझीले यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन् । फिल्ममा नायक दयाहाङ राइको पनि मुख्य भूमिका छ । फिल्ममा कलाकार माओत्से गुरुङ पनि फाइनल भइसकेका छन् । 

फिल्म वृत्तमा दयाले यो फिल्म छाडेको भन्ने हल्ला चलिरहेको छ । तर, निर्माता अधिकारीले भने दयाहाङसँग फिल्मका लागि सहमति भइसकेको र चैत्रका लागि समय दिएको बताए । उनका अनुसार, दयाले फिल्म छाडेको भन्ने हल्ला हल्ला मात्र हो । 

यो फिल्मले शहरीया युवती र गाउँको एक यूवकको कथालाई भन्नेछ । फिल्मलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने तयारी समेत यसको निर्माणपक्षले गरिसकेको छ । 

रोहितले एकैसाथ ३ फिल्म निर्माणको घोषणा गरिसकेका छन् । जसअनुसार, फिल्म ‘फर्की फर्की’को छायांकन भइरहेको छ । ‘वरिष्ठ बलराम’को छायांकन भने चैत्रबाट सुरु हुनेछ । अर्को एक फिल्मको भने अहिलेसम्म नाम घोषणा गरिएको छैन । 

सच्चाइएकोः यसअघि दयाहाङ राईले फिल्म छाडेको भन्ने खबर स्रोत दिएको जानकारी गलत भएकोमा सच्याइएको छ । सम्पादक...