नेपाली मेकरः जाडो र विदेशी फिल्मसँग भाग्ने, आफैसँग भने जुध्ने

जाडो महिनामा नेपाली फिल्म हेर्न दर्शक हलमा आउँदैनन् भन्ने सोच नेपाली मेकरको छ । यसैले, कार्तिक २४ गते रिलिज भएको फिल्म ‘दिमाग खराब’पछि नयाँ नेपाली फिल्म हलमा छैनन् । बरु, नेपाली मेकरले जाडो भन्ने गरेको मंसिर महिनामा नै हिन्दी फिल्म ‘एनिमल’ले धुम मच्चाइरहेको छ । बिहान ६ बजेबाट रातको ११ बजेसम्म हलमा दर्शक खचाखच भरिएका छन् । 

नेपाली मेकरहरु विदेशी फिल्मसँग डराउँछन् । तर, बिर्सन हुँदैन कि कार्तिक २४ गते रिलिज भएको फिल्म ‘टाइगर ३’लाई नेपाली फिल्म ‘दिमाग खराब’ले उछिनेको थियो । राम्रो विषयवस्तु भएको खण्डमा दर्शक हलसम्म पुगेका छन् । मात्र, हामीले दर्शकको स्वाद अनुसारको फिल्म बनाउन सकिरहेका छैनौं । 

एक महिना  लामो अन्तरालपछि मंसिरको २९ गते ‘जम्प र दुई कदम’ नामक नेपाली फिल्म रिलिज हुँदै छन् । तर, पौष महिनाको ५ गते बलिउड फिल्म ‘डंकी’ र साउथको फिल्म ‘सलार’ रिलिज हुँदैछ । यी दुई फिल्म रिलिज हुँदा वरि-परी पनि कुनै नेपाली फिल्म रिलिजको सेड्यूल छैन । बरु, पौषको २७ गते तीन वटा फिल्म जुध्न तयार भएका छन् ।

यो मितिमा ‘चित्रा, पर्खि बसेँ तिमीलाई र देववाणी’ रिलिजका लागि तयार छन् । हिन्दी फिल्म आउँदा त्यसको वरि-परी नै कुनै फिल्म रिलिज नगर्ने बरु आफ्नै देशको फिल्मसँग जुध्ने नियति त नेपाली फिल्म मेकरको पहिलेदेखिकै हो । 

माघ महिनामा पनि यस्तै सेड्यूल छ । हामी आफै आफै जुध्न तयार हुन्छौं तर विदेशी फिल्मलाई बाटो खुल्ला छोडिदिन्छौँ । विदेशी फिल्मसँग नेपाली मेकरले प्रतिस्पर्धा गर्न नसकेको भन्दा पनि गतिलो फिल्म बनाउन नसकेको पक्का हो । उत्कृष्ट फिल्म बनाएर बजारमा एउटा हाइप बनाउन सक्ने हो भने न जाडोसँग भाग्नुपर्छ, न विदेशी फिल्मसँग नै ।