बसन्तपुरको ‘पवित्र इनार’माथि नाँचेपछि प्रकाश सपुतको आलोचना

दृश्य हटाइएको भन्दै बोले झुट

गायक प्रकाश सपुतले गायनमा जति चर्चा पाए, त्यो भन्दा बढी आलोचना भोगिरहेका छन् । गीतसंगीतमा उनका सिर्जना उत्कृष्ट हुन्छन्, तर ती श्रृजना हिट हुनका लागि विवाद चाहिन्छ । 
उनै, गायक फेरि एक पटक विवादमा छन् । सामाजिक सञ्जालमा उनको काम गर्ने शैलीलाई लिएर तीव्र आलोचना भइरहेको छ । उनले काम गरेको एउटा गीतको भिडियोलाई लिएर यतिबेला तीव्र आलोचना भइरहेको हो । 

गायक तथा मोडल सपुत र सुनिता बुढाले नृत्य गरेको एक गीतको भिडियोको लोकेशनका कारण उनीहरूको चर्को आलोचना भएको हो । ४ महिना अगाडि नै सुटिङ भएर युट्युबमा आइसकेको ‘कमाउने नि हो, रमाउने नि हो’ बोलको गीतको छायांकन वसन्तपुरमा गरिएको थियो । जहाँ, एउटा दृश्यमा प्रकाश र सुनिताले वसन्तपुरस्थित कुमारी घर नजिकैको इनारमाथि उभिएर नाचेपछि तीव्र आलोचना भइरहेको हो । 

जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमाथि सपुत र सुनिता उभिएर नाचेका हुन् । यो पवित्र स्थल हो । कुमारीका लागि  पानी ल्याउन प्रयोग हुने इनारमा जुत्ता लगाएर नाचेपछि नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै उनीहरूको आलोचना भएको हो ।

चार महिना अगाडि सार्वजनिक भएको यो गीतको छायांकनको उक्त दृश्य अहिले भाइरल भएको हो । मोडल सपुतले भने आफूले निर्देशकको निर्देशन अनुसार भिडियोमा काम गरेको बताएका छन् । उनले, मिडियासँग कुराकानी गर्दै छायांकन गरेपछि पनि आफूले ‘यहाँ त खिच्न हुँदैनथ्यो होला’ भनेर भनेको बताएका छन् । उनले, उक्त दृश्यलाई भिडियोमा प्रयोग नगरेको समेत बताएका छन् । 

तर, सुपतले मिडियासँग झूट बोलेको भिडियो हेर्दा थाहा हुन्छ । भिडियोमा सपुत र बुढाले इनारमाथि नाचेको दृश्य प्रयोग गरिएको छ । (तस्विरमा हेर्न सक्नुहुनेछ) । यसैले, गीत बिबादमा आएपछि सपुतले आम दर्शकसँग झूट बोलेका छन् । जुन आफैंमा दुःख लाग्दो कुरा हो । 

गायक सपुतले यस विषयमा मिडियामार्फत माफी समेत मागेका छन् । तर, एउटा परम्परा र इतिहास बोकेको सम्पदामा गीतको छायांकन गर्दा प्रकाश जस्ता कलाकार सजग हुनुपर्ने हो । यसमा उनी सजग नभएको देखिन्छ । 

गायक सपुत बारम्बार विवाद निम्त्याएर चर्चामा आइरहेका छन् । आखिर, उत्कृष्ट श्रृजना गर्ने यी गायकलाई बिबाद किन चाहिरहेको होला भन्ने प्रश्न पनि उठ्ने गरेको छ । सामाजिक सञ्जालमा गायक सपुतलाई बहिष्कार गर्नुपर्ने भन्दै प्रतिक्रियाहरू समेत आएका छन् ।