‘उपहार’को पहिलो गीतः कतै खल्लो, कतै बलियो

फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ आज रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतका फिल्मका मुख्य ३ जोडीलाई फिचरिङ गरिएको छ । यो गीत रोमान्टिक र डान्सिङ भावमा तयार पारिएको छ । 

बाबुल गिरी र एलिना चौहानको स्वर रहेको यो गीतमा शंकर अधिकारी ‘घायल’को शब्द, बाबुल गिरीको संगीत छ । गीतको अडियोलाई विशेषगरि, सामाजिक संजाल टिकटक लक्षित गरी तयार पारिएको छ । 

भिडियोको सुरुवातमा फिल्मका मुख्य पात्रद्धय रेखा थापा र मुकुन भुषाललाई देखाइएको छ । झम झम पानी परिरहेको बेलामा छाता ओडेर इन्ट्री गरेकी रेखालाई हेर्दा उनका पुराना फिल्मको याद आउँछ । रेखाले भिडियोमा आफ्नो पुरानो स्टाइल निकाल्न खोजेपनि पूर्णता देखिएको छैन । पुरानी रेखा थापा भिडियोमा मिस हुन्छ ।

मुकुनसँग उमेरका हिसाबले जोडी बनाइएको हुनसक्छ । तर, रेखा र मुकुनको केमेष्ट्री अपेक्षित छैन । दुबैलाई कोरियोग्राफर कविराज गहतराजले नचाउने कोशिश गरेका छन् । यस्तै, दोस्रो जोडीको रुपमा पूजा शर्मा र समर्पणजंग कार्कीलाई देखाइएको छ । भिडियोमा कविराजले  पूजा र समर्पणलाई गतिलो डान्स स्टेप दिन सकेका छैनन् । यसलेगर्दा, पूजा र समर्पणलाई स्टाइलिस्ट मात्र देखाइएको छ, आवश्यक पर्ने ठाउँमा पनि स्टेप छैन । 

पूजाको जोडीको रुपमा देखिएका डेब्यु नायक तथा मिस्टर नेपाल समेत रहेका समर्पणजंगको प्रतुति डेब्युकै झै देखिन्छ । गीत रिलिज कार्यक्रममा निर्मात्री रेखा थापाले समर्पणको तारिफ गरेपनि समर्पणले अझै धेरै कुरा सिक्न नै बाँकी छ । पूजासँग उनको रोमान्सले दर्शकमा उत्साह पैदा गर्दैन ।

तेश्रो जोडीको रुपमा देखिएका नायिका बेनिशा हमाल र नायक तेज गिरी भने हरेक कुराले भाग्यमानी देखिएका छन् । भिडियोको लोकेशन, छायांकनपक्ष, डान्स स्टेप सबै कुरामा उनीहरु बलियो देखिएका छन् । बेनिशाको अगाडि तेजको डान्स उत्कृष्ट त होइन, तर ‘प्रेमगञ्ज’मा जमेको यो जोडीले फेरि दर्शकको ध्यान खिच्न सक्छ । 

यो गीतको भिडियोमा पहिरन तयार पारेकी सुनिता श्रेष्ठको काम अब्बल छ । उनले, हरेक कलाकारलाई गज्जबको पहिरन उपलब्ध गराएकी छिन् । फागूणको २५ गतेबाट रिलिज हुन लागेको यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्मकी निर्मात्री रेखा थापाले आफ्नो करिअरकै उत्कृष्ट फिल्मको रुपमा ‘उपहार’लाई चित्रित गरेकी छिन् । पहिलो गीतले रेखाले भने जस्तो छनक त दिएको छैन, तर रिलिज हुन बाँकी अन्य सामाग्रीले कस्तो प्रतिक्रिया पाउँछन् त्यसको आधारमा मुल्यांकन गर्न सकिन्छ ।