सात महिनापछि एउटा फिल्म चल्दा नेपाली फिल्म क्षेत्र तै चुप मै चुप

कुनै पनि क्षेत्रमा एकता भन्ने कुराले ठूलो महत्व राख्छ । राजनीति होस् या समाजमा एकता र एकजुट भन्ने कुराले ठूलो अर्थ राख्छ । तर नेपाली फिल्म क्षेत्रमा एकता कहिल्यै देख्न पाइएको छैन भन्दा फरक नपर्ला । जुनसुकै घटनाक्रमलाई हेर्दा नेपाली फिल्म क्षेत्र कहिल्यै पनि एक ढिक्का हुन सकेन । 

गत बैशाखमा रिलिज भएको फिल्म जारीले नेपाली बक्स अफिसमा अनपेक्षित रुपमा व्यापार गर्यो । यसको सात महिना पछि नेपाली फिल्म क्षेत्रमा हाल रिलिज भइरहेको फिल्म पशुपति प्रसाद २ भष्मे डनले सफताको ढोका खोलिरहेको छ । 

दशैंको अवसर पारेर शनिबारदेखि रिलिज फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा बिष्फोटक सुरुवात गरेको छ । देशभरका अधिकांश हल हाउसफूल रहेका छन् । यो नेपाली फिल्मका लागि बम्पर ओपनिङ हो । दशैंमा फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई मन पराएका छन् ।

निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्म हेर्न हलमा पुगेका दर्शकमा खुशी फर्किएको छ । तर नेपाली फिल्म वृतमा भने यसले साथ पाउन सकेको छैन । यो फिल्मका बारेमा केही बोल्न होस् या केहीकुरा लेख्न तयार छैनन् ।

करोडौं लगानी हुने यो क्षेत्रले लगानी फिर्ता दिन अहिले पनि चुनौतीकै विषय छ । यस फिल्मका विषयमा नेपाली फिल्म क्षेत्रका निर्माता, निर्देशक वा कलाकारको साथ समर्थन पाउन नसकेको देखिन्छ । यो फिल्मका बारेमा न त केही बोलेका छन्, न त आफ्नो सामाजिक सञ्जालबाट केही लेखेका छन् । 

यो अवस्थामा नेपाली फिल्म क्षेत्रले एकता देखाउन आवश्यक हो, तर यहाँ त बरबादी होस् भन्न तयार देखिए जस्तो छ । साथ र समर्थन दिन कोही तयार छैनन् । हुनत, नेपाली फिल्म क्षेत्रले एक भएको भान गराउन र जनतालाई आफ्नोपनको महशुस गराउन अरू बेलामा पनि चुकेको देखिन्छ । 

बलिउड र साउथका कलाकारहरू एक भएर एक अर्कालाई साथ लिन र दिन तयार छन् । तर, नेपाली फिल्मकर्मीहरु जस्तो समयमा पनि एक आपसमा लडिरहन उदृत छन् । कुनै पनि समय एकता देखाउन तत्पर छैनन् । बरु उल्टै केही भ्रमको सिर्जना गर्न अग्रसर हुन्छन् । यहाँ फिल्म सम्बन्धी थुप्रै संघ संस्था पनि छन् । यि त नाम मात्रैका भएका छन् । यस्ता संघ संस्थाले फिल्म र फिल्मकर्मी प्रति त कुनै हौसला प्रदान गर्यो भने त पाप नै पो लाग्छ कि जस्तै गरेका छन् । 

एउटा फिल्म चल्दा होस् या नचल्दाको बेला त्यससँग सम्बन्धित व्यक्ति प्रति साथ र समर्थन देखाए कति ठूलो सहानुभूति प्राप्त हुन्थ्यो होला । यसतर्फ फिल्मकर्मीहरुको ध्यान जान जरुरी छ । 

निर्माता, निर्देशक वा कलाकारहरूले आफूहरू एक भएको र जनतालाई हामी साथमा छौ भन्ने महशुस गराउन नसकेको देखिन्छ । यसैले, यो बेलामा प्रतिस्पर्धा, आरोप भन्दा पनि फिल्म क्षेत्र एक छ भन्ने सन्देश दिन आवश्यक छ ।

अब एकले अर्काको अभिभावकको भूमिका निर्वाह गर्न जरुरी छ । जबसम्म अरुको अस्तित्व स्वीकार गरेर सहयोग र सहकार्य गर्ने प्रणालीको विकास गदैनौ तबसम्म यो क्षेत्रका विकराल समस्याहरू जहाँको तही हुनेछन् । एकपटक सबैको ध्यान नेपाली फिल्म क्षेत्रतिर जान जरुरी छ ।