‘जेरी र फर्कि फर्कि’का निर्माता, जसले ३२ लाख दिएर अनमोललाई एक बर्षदेखि पर्खिरहेका छन्


नायक अनमोल केसीले एक महिना अगाडि १० लाख रुपैयाँको चेक लिएर निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रावायण’मा काम गर्ने बचन दिए । यो फिल्मको कथा नगरकोट पुगेर फाइनल गरिएको बताइएको छ । 

उनै, अनमोलले अन्तिम समयमा फिल्ममा काम नगर्ने बताएर आफूहरुलाई १ करोड भन्दा बढी क्षती पुगेको भन्दै सुदर्शन फिल्मस्की प्रमुख सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिइन् । प्रहरीमा सुप्रियाले दिएको उजुरीको आधारमा अनमोल शुक्रबार पक्राउ परे । हाल, उनलाई प्रहरीले काठमाडौंको चिरायू अस्पतालमा राखेर उपचार गराइरहेको छ । अनमोललाई शुक्रबार बेलुकी स्वास्थ्यमा समस्या भएपछि चिरायूमा लगिएको हो । 

अनमोल केसी भदौमा फिल्ममा काम गर्ने बचन दिएर असोजमा छायांकनका लागि तयार कसरी भए ? यो आफैमा अचम्म लाग्दो कुरा छ । किनकी, अनमोलले यस अगाडि साइन गरेका दुई फिल्म ‘जेरी अन टप र फर्कि फर्कि’का निर्माता उनलाई करिब १ बर्षदेखि पर्खिरहेका छन् । 

अनमोलले ‘जेरी अन टप’को छायांकन त बैशाखबाट नै गर्नुपर्ने हो । तर, विविध कारणले फिल्मको छायांकन भएन । निर्माता सरोज न्यौपाने भन्छन्–‘बरु, उजुरी त हामीले हाल्नुपर्ने थियो । तर, अनमोलले म अझै तयारी गर्छु भनेकाले एक करोड बढी रकम होल्ड भएर पनि हामीले पर्खियौं ।’



वुझिएअनुसार, यो फिल्मबाट अनमोलले १० लाख रुपैयाँ पेश्की रकम लिएर कागजी संझौता गरिसकेका छन् । यस्तै, निर्माता रोहित अधिकारीले अनमोललाई भदौमा यदि अनमोलको होम प्रोडक्शनको फिल्म ‘माइतीघर २’ वा अरु कुनैको छायांकन नभएको खण्डमा ‘फर्कि फर्कि’को छायांकन गर्नुपर्ने गरि कागजी संझौता गरिसकेका छन् । अनमोलले रोहितसँग २२ लाख रुपैयाँ वुझिसकेका छन् । 

तर, भदौमा फिल्म ‘रावायण’को छायांकन गर्ने भन्दै अनमोलका पिता भुवन केसीले रोहितलाई ‘फर्कि फर्कि’को छायांकन कार्तिकमा गर्न आग्रह गरे । रोहितले भुवनको कुरा सहजै स्विकार गरे । 

दुई फिल्मका लागि वितरकले पनि राम्रो रकम खर्च गरिसकेका छन् । ‘जेरी अन टप’का वितरक गोविन्द शाहीले आफूले फिल्मका लागि ५० लाख खर्च गरिसकेको बताउँछन् । यसरीहेर्दा, अनमोलले ‘फर्कि फर्कि र जेरी अन टप’मा समय दिएको करिब एक बर्ष भैसक्यो । तर, उनले अझै यी दुई फिल्मका लागि समय दिन सकेका छैनन् । 

यता, एक महिना अगाडि साइन गरेको फिल्म ‘रावायण’को छायांकनमा आलटाल गरेको भन्दै यसको निर्माणपक्षले प्रहरीमा उजुरी दियो र अनमोल पक्राउ परेका छन् । अब, अनमोलको मुद्दामा भोली अदालतको आदेश के आउँछ, सबैले प्रतिक्षा गरिरहेका छन् ।