स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

नायक अनमोल केसीलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल लगिएको श्रोतले जानकारी दिएको छ । अनमोललाई कुन अस्पताल लगिएको हो भन्ने खुलेको छैन । 

नायक अनमोल केसीलाई प्रहरीले आज मात्र नियन्त्रणमा लिएको थियो । काभ्रेको  साँगाबाट उनलाई नियन्त्रणमा लिइएको हो । यसपछि उनलाई नयाँ बानेश्वरमा प्रहरी वृत्तमा लगिएको थियो । त्यहाँबाट अनमोललाई स्वास्थ्य परीक्षण कालागि वीर अस्पताल लगिएको थियो । 

अस्पतालबाट फेरि प्रहरी कार्यालयमा ल्याएपछि अनमोलको स्वास्थ्यमा समस्या देखिएको थियो । केही दिनदेखि काठमाडौँ बाहिर रहेका अनमोल बिरामी थिए । पक्राउ परेपछि उनको स्वास्थ्य अवस्था झनै कमजोर बनेको थियो । 

अनमोललाई प्रहरीले आज अस्पतालमा नै राख्नेछ । उनलाई आइतबार जिल्ला अदालत, काठमाडौँमा म्याद थपका लागि लैजाने तयारी प्रहरीको छ । 

सुदर्शन थापा फिल्मस्की प्रमुख सुप्रिया कटुवालको उजुरीको आधारमा प्रहरीले अनमोललाई पक्राउ गरेको हो । असोजको १० गते अनमोलले उच्च अदालत, पाटनबाट पक्राउ पुर्जी जारी नगर्ने स्टे अर्डर (निषेधाज्ञाको आदेश) लिएका थिए । तर, सुप्रियाले फेरि ‘आपराधिक विश्वासघात’को उजुरी दिएकी थिइन् । यसपछि, प्रहरीले अनमोललाई पक्राउ गरेको हो ।