रेखा थापाः एक बिद्रोही नायिका

जतिबेला सामाजिक सञ्जाल र अनलाइनको जमाना थिएन, त्यतीबेला भदौको ५ गते नायिका रेखा थापाको जन्मदिन अझ विशेष हुने गरेको थियो । रेखाको जन्मदिनको एक महिना अगाडि नै विभिन्न राष्ट्रिय दैनिकमा उनलाई शुभकामना सन्देशका लागि पत्र पठाउन आग्रह गरिन्थ्यो । भदौ ५ गते पेज थ्रीमा रेखालाई शुभकामना दिने उनका दर्शकहरुको सूची लामो हुन्थ्यो । 

रेखा थापाको जन्मदिन भदौ ५ गते भन्ने अधिकांश दर्शकलाई थाहा थियो । सामाजिक सञ्जाल नहुँदा पनि रेखा थापा आम दर्शकहरुमाझ सर्वाधिक लोकप्रिय थिइन् । रेखाको जन्मदिन मात्र होइन, कान्तिपुर साप्ताहिकबाट प्रकाशन हुने ‘लभ गुरु’ स्तम्भ पनि सर्वाधिक चर्चामा थियो । रेखासँग प्रेमका बारेमा प्रश्न सोध्ने दर्शकहरुलाई उनले सहजै जवाफ दिने गर्थिन् । रेखाले दिने गरेका जवाफ पनि खुबै चर्चामा रहन्थे । रेखा थापा दर्शकको नजरमा ‘लभ गुरु’को रुपमा परिचित थिइन् । 

सायदै, नेपाली फिल्म क्षेत्रमा रेखा थापाको जस्तो क्रेज र स्टारडम अरु कुनै नायिकाले बनाउन सकेको होस् । रेखा थापा, नेपाली फिल्म क्षेत्रका लागि नायिका थिइनन्, स्टार थिइन् । 

छविराज ओझाको निर्माण र नरेश पौड्यालको निर्देशनमा तयार भएको फिल्म ‘हिरो’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी रेखा साच्चिकै फिल्म क्षेत्रका लागि हिरो नै भएर जन्मिएकी थिइन् । आजको सामाजिक संजालको जमानामा फिल्मका कलाकारहरुलाई स्टारडम नै बनाउन मुश्किल परिरहेको समयमा रेखाले थोरै मिडिया हुँदा पनि गाउँ गाउँमा आफ्नो क्रेज स्थापित गरेकी थिइन् । 

रेखाले अभिनय गरेका फिल्मले लगानी उठाउने पक्का थियो । यसैले, त उनलाई लिएर निर्माता छविराज ओझाले निरन्तर फिल्म बनाइरहे । रेखाले अभिनय गरेका ‘हिम्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली’ लगायतका फिल्मको व्यापार आजका नायिकाहरुका लागि सपना बनेको छ । 

एक विद्रोही नायिका

रेखा थापाको परिचय नेपाली फिल्म क्षेत्रमा विभिन्न छ । कतिपयले उनलाई ‘हिम्मतवाली’ भन्छन् भने कतिपयले ‘काली’ । कतिपयले उनलाई स्टार नायिका भन्छन् । तर, रेखा थापा नेपाली फिल्म क्षेत्रकी एक विद्रोही नायिका हुन् । जसले फिल्म क्षेत्रमा नायक र नायिकाविच देखिने विभेदमा निरन्तर विद्रोह गरिन् । 

पारिवारिक रुपमा पनि उनको विद्रोह कम छैन । साथै, उनले राजनीतिमा लागेपछि पनि निरन्तर विद्रोह गरिरहेकी थिइन् र छिन् । 

नायक राजेश हमालको स्टारडम बलियो बनेको समयमा उनीसँग फिल्म नै नखेल्ने उद्घोष गरेकी थिइन् रेखाले । राजेश हमालसँग फिल्म नखेल्दा कुनै पनि नायिकाले फिल्म क्षेत्रमा पकड जमाउने समय थिएन । तर, रेखा थापा राजेश हमाल जस्ता नायकसँग विद्रोह गर्ने हिम्मतवाली नायिका हुन् । निखिल उप्रेति, विराज भट्ट जस्ता नायकसँग बोलचाल नै नगरि फिल्म क्षेत्रमा स्टारडम बनाउन सक्ने नायिका पनि रेखा थापा नै हुन् । आज पनि रेखा र विराजको बोलचाल छैन । निखिल उप्रेति र आर्यन सिग्देलसँग रेखाको ८ बर्षपछि बोचलाल भएको थियो । 

राजनीतिमा पनि रेखाको कदम स्थिर रहेन । सिंहदरबार अगाडि तत्कालिन माओवादी अध्यक्ष प्रचण्डसँग नृत्य गरेपछि एकाएक उनलाई राजनीतिमा रुची भएका दर्शकले पनि नजिकबाट नियाल्न पाए । यसपछि, रेखाको यात्रा राजनीतिमा मोडियो । कहिले, माओवादी, कहिले राप्रपा । रेखा थापाले निरन्तर राजनीतिमा पाइला चालिरहेकी छिन् । राजनीतिमा भने उनको यात्रा फिल्ममा जस्तो सफल भएको छैन । 

फिल्म निर्माणदेखि अभिनयमा रेखाले बनाएको क्रेज सायदै अब कुनै नायिकाले बनाउन सक्नेछन् । उनै, बिद्रोही नायिका आज आफ्नो जन्मदिन सेलिब्रेशन गर्दैछिन् । रेखालाई जन्मदिनको धेरै धेरै शुभकामना ।