‘दान्भी’का लागि एक्सन सिक्दै पूजा


केही दिनमा नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’का लागि नायिका पूजा शर्माले एक्सन सिकिरहेकी छिन् । 

उनले, आइतबारदेखि एक्सन सिक्न सुरु गरेकी हुन् । फिल्मका लागि शरीर समेत बनाइरहेकी पूजा बिहान जिम जान्छिन् भने दिउँसो एक्सन सिक्न बालकुमारी पुग्छिन् । 

पूजा भन्छिन्–‘यो फिल्मलाई एक्सन र लभ स्टोरी कथामा बनाउने तयारी निर्देशकको छ । दर्शकले, नेपाली फिल्ममा नदेखेको एक्सन यसमा देख्न पाउनुहुनेछ । यसैले, मैले पनि एक्सनको तालिम लिइरहेको हुँ ।’

यो फिल्मका लागि पूजाले भरपुर एक्सन गर्नुपर्नेछ । फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । निर्देशक रुपेश तामाङले फिल्मको एउटा गीत र क्लाइमेक्सको दृश्य सुरुवातमै खिच्ने बताए । यसैले, पनि फिल्मको घोषणा भएसँगै पूजाले एक्सनको तालिम लिन सुरु गरेकी हुन् ।

पूजाको एक्सनबाट आफू प्रभावित भएको  निर्देशक तामाङ बताउँछन् । उनले भने–‘यसपटक दर्शकले फिल्ममा पूजाको एक्सन अवतार देख्न पाउनुहुनेछ । यसका लागि हामीले एक्सनको फरक कोरियोग्राफी पनि गरेका छौं ।’

यो फिल्ममा पूजासँगै कलाकार कुन्साङ बोमजमको मुख्य भूमिका रहनेछ ।