‘प्रसाद २ र ज्याकी आई एम ट्वान्टी वान’ नचल्दा ‘भगवत् गीता’को मेकरलाई तनाव


समाचारको शीर्षक पढ्दा तपाइलाई २ फिल्म नचल्नुको कनेक्शन ‘भगवत गीता’मा कसरी पर्यो भन्ने लाग्न सक्छ । तर, ‘ज्याकी आई एम ट्वान्टी वान र प्रसाद २’ नचल्दा फिल्म ‘भगवत गीता’का निर्माता सुनील कुमार थापा र निर्देशक झरना थापाको तनाव बढेको छ । 

किनकी, यो महिना रिलिज भएर असफल भएका दुवै फिल्म प्रतीक्षित थिए । यी दुवै फिल्म नचल्दा सिंगो फिल्म क्षेत्र नै छक्क परेको छ । 

रिनाशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ हलमा लागिरहेको छ । यो फिल्ममा नायक धिरज मगर मुख्य भूमिकामा छन् । यस्तै, वैशाखको १५ गतेबाट रिलिज भएको फिल्म ‘प्रसाद २’को मुख्य भूमिकामा नायक विपिन कार्की छन् । यी दुवै फिल्म चल्छ भन्नेमा सिंगो फिल्म क्षेत्र नै विश्वस्त थियो । तर, भइदियो उल्टो । 

तपाइलाई जानकारी गराऔँ, ‘ज्याकी आई एम ट्वान्टी वान’का नायक धिरज मगर र ‘प्रसाद २’का नायक विपिन कार्की दुबैले फिल्म ‘भगवत गीता’मा काम गरेका छन् । यो फिल्मका मुख्य दुई खम्बाको फिल्म नै असफल हुँदा निर्देशक झरना थापालाई झनै तनाव थपिएको छ । 

एकातिर, ‘ए मेरो हजुर’को ब्रान्ड भन्दा बाहिर आएर झरनाले फिल्म निर्देशन गरेकी छिन् । अर्कातिर, फिल्मका मुख्य २ नायकको फिल्म नै नचलेपछि आफ्नो फिल्म के हुने हो भन्ने चिन्ता झरनालाई लाग्नु स्वाभाविक नै हो । 

तर, झरनाले आफ्नो  फिल्म बलियो बनेको भन्दै दर्शकले मन पराउनेमा विश्वस्त रहेको आफू निकट फिल्मीकर्मीलाई बताउने गरेकी छिन् । फिल्ममा सुहाना थापाको पनि मुख्य भूमिका छ । यो फिल्मलाई भदौको १५ गतेबाट रिलिज गर्ने सोच निर्माण पक्षको छ ।