फागुन १५ मा आत्मसमर्पण गरेका पल फागुन १५ मै छुट्दैछन्


गतबर्षको फागुन १५ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका नेपाली फिल्म क्षेत्रका चर्चित नायक पल शाह आज रिहा हुँदैछन् । यसलाई संयोग नै मान्नुपर्छ कि, पलले ठ्याक्कै एक बर्ष कारागार जीवन बिताएका छन् । आज फागुन १५ गते उनी जिल्ला कारागार, तनहुँबाट रिहा हुन लागेका हुन् । 

पल शाहलाई उच्च अदालत, पोखराले सफाइ दिएको हो । योसँगै पलले सबै आरोपमा सफाइ पाएका छन् । 

पलका म्यानेजर कृष्ण जोशीका अनुसार, संभवत आज मध्यान्हसम्म सबै प्रक्रिया पुरा गरेर पल शाह जेल मुक्त हुनेछन् । जेल मुक्त भएसँगै पल आज नै काठमाडौं आउने बताइएको छ । 

एक नाबालिका गायिकाले गत बर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा पलले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि पलले फागुन १५ गते आत्मसमर्पण गरेका थिए । यसपछि, पलले जिल्ला अदालत, तनहुँ र जिल्ला अदालत, नवलपरासीमा चक्कर काटेका थिए ।