औलामा गन्न सकिने यी निर्देशक, जसको नामले दर्शक हलमा जान्छन्

भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा तहल्का मच्चाउँदै गर्दा निर्देशक एसएस राजमौलीप्रति देखिएको दर्शकको विश्वास गज्जबको छ । यो फिल्मले विश्व बजारमा २ दिनमै ५ सय करोडको व्यापार गर्नुको पछाडि राजमौलीमाथिको विश्वास नै हो ।

भारतीय फिल्म बजारमा केही यस्ता निर्देशक छन् जसको नामले फिल्म हेर्न हलमा दर्शक पुगेको पाइन्छ । संजयलीला भन्साली, राजकुमार हिरानी, करण जोहर, रोहित सेट्टी जस्ता निर्देशकहरुको फिल्ममा दर्शकको उच्च विश्वास छ ।

नेपालमा दर्शकले नै विश्वास गर्ने निर्देशकको संख्या निक्कै कम छ । कुनै समय शिव रेग्मी, तुलसी घिमिरे जस्ता निर्देशकले आफ्नै नामबाट दर्शकको विश्वास जितेका थिए ।

तर, पछिल्लो समय दर्शकले निर्देशककै नामबाट फिल्म हेर्न छाडेका छन् । निर्देशकहरुले आफूलाई स्थापित गर्न नसक्दा यो समस्या आएको हो । निर्देशक निश्चल बस्नेतले ‘लुट’ निर्देशन गरेपछि उनीमाथि दर्शकको विश्वास बढेको छ ।

यसपछि उनले निर्देशन गरेका ‘टलकजंग भर्सेस टुल्के, लुट २’ले राम्रो व्यापार गर्यो । तर, निर्देशक बस्नेतले यसपछि फिल्म निर्देशन गर्ने आँट गरेका छैनन् ।निर्देशक दीपेन्द्र के खनालमाथि दर्शकको विश्वास बढ्दै गएको छ । उनले विशेषगरि, ‘पशुपति प्रसाद, आमा’ जस्ता फिल्म निर्देशन गरेपछि दर्शक उनको नामबाट फिल्म हेर्न पुग्न थालेका छन् ।

दर्शकले रामबाबु गुरुङलाई ‘कबड्डी’ ब्रान्डबाट पत्याएका छन् । उनै, रामबाबुले फिल्म ‘पुरानो डुंगा’बाट भने आफूलाई स्थापित गर्न सकेनन् । तर, रामबाबु पनि दर्शकको मानसपटलमा बसेका निर्देशक हुन् । लभ स्टोरी फिल्म निर्देशनमा सुदर्शन थापाले आफूलाई स्थापित गरेका छन् । उनको नामबाट पनि फिल्म हेर्न दर्शक हलसम्म पुग्ने गरेका छन् ।

झरना थापा, दीपाश्री निरौला जस्ता निर्देशकले ब्रान्ड फिल्मबाट आफूलाई स्थापित गरेका छन् । तर, ‘ए मेरो हजुर र छक्का पन्जा’को ब्रान्ड बाहेक अन्य फिल्म निर्देशन गरेपछि मात्र उनीहरु सफल वा असफल हुन् भन्ने परिक्षण हुनेछ । यस्तै, ‘कालो पोथी’बाट मिन बहादुर भाम, ‘बुलब्ल’बाट विनोद पौडेलले पनि फिल्म क्षेत्रमा आशा देखाएका छन् ।

नेपाली फिल्मका निर्देशकले एउटै विधाको कथामा आफूलाई अगाडि बढाउँदैनन् । यसैले, कुनै फिल्मबाट सफल भैहाले भने उनीहरु कतै न कतै गएर नयाँ शैली समात्न खोज्दा चिप्लिएका छन् ।