हिमाली प्रेमकथाको ‘मन्त्र’ वैशाख १६ बाट प्रदर्शनमा आउने

फिल्म ‘मन्त्र’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

हिमाली क्षेत्रको प्रेमकथामा आधारित सौगात मल्ल र दीया पुन स्टारर फिल्म ‘मन्त्र’को प्रदर्शन मिति घोषणा गरिएको हो ।

मंगलबार राजधानीमा अन्तर्राष्ट्रिय नारी दिवसका बीच अभिनेत्री दीया पुनलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्न आयोजित कार्यक्रममा चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात र दीयाका अलवा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेका छ ।

फिल्मको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।

गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मले हिमालमा बस्नेहरुको प्रेमकथा भन्छ । ‘यो कल्चरल फिल्म समेत हो । हिमालमा बस्ने केटाले केटीलाई गर्ने मायाको शैली प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ निर्देशक गुरुङले भने, ‘यसले त्यहाँको संस्कृतिलाई पनि बुझ्न मद्दत गर्छ ।’

गोरखा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पसम्म पुगेर छायांकन भएको फिल्ममा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । ‘मन्त्र’ एउटा अर्गानिक सिनेमा रहेको निर्देशक गुरुङले दाबी गरेका छन् ।

अभिनेत्री पुनले आफ्ना लागि संख्याभन्दा पनि फिल्मको गुणस्तरले अर्थ राख्ने बताइन् । ‘मलाई यस्तै कल्चरल र क्वालिटी फिल्ममा काम गर्न मन छ,’ उनले भनिन्, ‘संख्याभन्दा पनि क्वालिटीको पछि लाग्दा कमै फिल्ममा काम गरेकी छु ।’

अभिनेता सौगात मल्लले पनि एउटै खाले फिल्ममा काम गर्दागर्दा दिक्क लागेको बताए । ‘एक्टरको रुपमा यस्तो महसुस सबैलाई हुन्छ,’ उनले भने, ‘तर मन्त्र यस्तो लभस्टोरी हो, जसले सबै दर्शकलाई अग्र्यानिक स्वाद चखाउँछ ।’

दीयाले सगरमाथाको चुचुरोमा राष्ट्रिय झन्डा र फिल्मको पोस्टर फहराउने जानकारी दिइन् । यसै साता बेलायतबाट नेपाल आएकी दीया बैशाखमा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् । फिल्मको प्रदर्शन मिति घोषणा कार्यक्रममा निर्माण टिमले सगरमाथा आरोहण गर्न लागेकी दीया पुनलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झन्डासहित फिल्मको पोस्टर पनि हस्तान्तरण गरेको थियो ।