प्रत्येक घरमा ‘योद्धा छोरी’ जन्मिनुपर्छ: रेखा थापा

आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो ।

महिला दिवसको अवसरमा सामाजिक सञ्जालमा धेरैले शुभकामना सन्देश दिइरहेका छन् । अभिनेत्री रेखा थापाले पनि महिला दिवसको अवसरमा शुभकामना दिएकी छन् । उनले पुरुषसँग पनि कयौं पीडा कायमै रहेको उल्लेख गर्दै प्रत्येक घरमा ‘योद्धा छोरी’ जन्मिनुपर्ने कुरामा जोड दिएकी छन् ।

रेखा थापाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी छिन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ । पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’