‘चुरोटको ठुटो नै हुन्छु कि भन्ने डर थियो’

भुपि शेरचनको कविता माथि बनेको नेपाली फिल्म ‘चिसो एष्ट्रे’ चैत ४ बाट प्रदर्शनमा आउने भएको छ।

आइतबार काठमाडौंमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै फिल्मको टिमले चैत ४ गतेबाट प्रदर्शनीमा आउने जानकारी दिएका हुन्।

यस फिल्मका निर्देशक दिन्स पाल्पालीले यो फिल्म निर्माण गर्दा धेरै दुख पाएको बताएका छन्। पाल्पालीले फिल्म सुटिङका बेला गाह्रो र धेरै मिहिनेत गरेको बताएका छन्।

उनले भने, आफू पनि चुरोटको ठुटो नै हुन्छु कि भन्ने डर लागेको थियो, मानसिक तनाव त्यति सम्म भएको थियो । फिल्म भूपिको दृष्टिकोणलाई सापटी लिएर निर्माण गरेका हौँ । ‘हामीले फिल्मलाई काव्यात्मक न्याय दिने प्रयास गरेका छौं । उक्त कविताबाट प्रभावित फिल्मलाई दर्शकले रुचाउने विश्वास रहेको बताएका छन् ।

पाल्पालीले अगाडि भने, ‘म भूपिका कविताको ठूलो फ्यान हुँ । उहाँका सबै कविता कण्ठै छन् । सो कवितामा फिल्म बनाउन सकिए दर्शकसँग जोडिन सकिन्छ भन्ने मलाई पहिल्यैदेखि लागेको थियो ।’

‘चिसो एस्ट्रे’मा मित्रताको कथा रहेको उनले बताए । ‘साथीबीचको एकता र दर्शन यसमा छ । फिल्म हेर्दा तपाईंले ताजा दृष्टिकोण पाउनुहुनेछ,’ उनले भने ।

उनले एउटा कविताबाट फिल्मको कथा लेख्न धेरै गाह्रो भएको अनुभव सुनाए। उनले यस फिल्मका पात्रहरू जीवन्त तथा यही समाजबाट उठाएको बताए।

फिल्मको कथा समेत पाल्पालीले नै लेखेका हुन्। गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, यही विषयलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका देख्न सकिन्छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्।

फिल्म होलीको भोलि अर्थात चैत ४ गतेबाट प्रदर्शनका आउने भएको छ ।