टक्क पृथ्वी, छक्क प्रविधि – टंक आचार्य

टक्क पृथ्वी, छक्क प्रविधि

रीट हाल्नु हुन्थ्यो कोर्टहरु बन्द छन्
हेग पुर्याउनु हुन्थ्यो जहाजहरु ग्राउन्डेड छन्
ग्वान्टानाउ टापूमा थुन्नु हुन्थ्यो
उभिन्डो पारेर , सूलीमा उन्नु हुन्थ्यो
अणु बमले उडाउनु हुनुथ्यो
पाता कसेर लडाउनुहुन्थ्यो
टाउकाको मोल तोक्नुहुन्थ्यो
नील हत्तकडी ठोक्नुहुन्थ्यो
कसरी गर्नु ?
अदृश्य छ त्यो
सबैलाई पीरेको छ
भिसा बिनै छिरेको छ
छेक्न सकिँदैन
अरबौ सशस्त्र मानिसहरु एकातिर
एउटा निसशस्त्र भाइरस अर्कातिर

संसारैभरी यसैको आतंक छ, त्रास छ
घरभित्रको झ्याल खानामा बबुरो मान्छेको बास छ
लण्डनमा लन्च र ड्यालसमा डिनर गर्नेहरु
एकाएक दुला पसेका छन्
बिजनेस र फर्स्ट क्लासका भीआइपीहरु
लल्याकलुलुक भइ थला बसेका छन्
बम, बारुद र मिसाइ विक्रेताहरु
मास्क किन्ने लाइनमा उभिएका छन्
स्कचले मुख कुल्ला गर्नेहरु
सेनिटाइजरको पर्खाइमा छन्
अन्तरिक्षमा बस्ती बसाउन प्लटिङ गर्नेहरु
धर्तीमा ६ फिट प्लट नपाउने भयले स्तब्ध छन्
संसारका डनहरुलाई साइजमा ल्याउन
खोकी र हाछ्यू नै पर्याप्त छ
बन्द हडताल विरोधी सरकार
आफै थुन्दैछ सीमा, प्रवेश आज्ञा
र आवागमन लक अप छन्
ग्रेटवाल, बुर्ज खलिफा र गिटनील्याण्ड
निलम्बित छन् पाँच तारे र बुलेट ट्रेन

प्रतिबन्धित छन् अंकमाल चुम्बन र प्रेम
क्वारेन्टाइनमा छन् सिनेमा घर र संसदहरु
आइशोलेशनमा छन् चर्च, मन्दिर र मस्जिदहरु

शिकारी छिर्दैन जंगल
जीवजन्तु आजात छन्
चरा स्वतन्त्र छन् आकाशमा
माछा मग्न छन्
हात नधुने प्राणी विन्दास छन्, मस्त छन्
विचरा मान्छेहरु हात धुनमै व्यस्त छन्

हेर्दा हेर्दै होडबाजी हल्लिएको छ
कब्जाबाजी कापेको छ
शक्तिशालीहरुको शक्ति हराएको छ
भिटो पावरको भक्ति हराएको छ

पृथ्वी टक्क रोकिएको छ
सभ्यताको सात्तो गएको छ

एकाएक फर्किएको छ मान्छ होसमा
प्रश्न चिन्ह लागेको छ विज्ञानको जोसमा

आकाश संग्लिएको छ
ओजोन बाक्लिएको छ
पुनर्मिलन हुँदैछ मानवको
प्रकृति, परिवार र आफूसँग
भीडबाट भागौ, घरभित्र बसौं
आत्मबल औषधि हो, आफैभित्र पसौं

एउटै सूत्र र मन्त्र हो कोरोनाको
आफूलाई नसारौ, अरुलाई नबाँडौं