स्मृतिमा भूकम्प र पुनर्निमाण: जुन घरले भरदियो, त्यही घर पस्‍न डर भयो

वैशाख १२को त्यो शनिबार। छुट्टिको दिन । कहिलेकाँही रमाइलो गर्ने मेसो मिलाएर अघोषित सेड्युल अनुसार कहिले कता कहिले कता निस्कनु मेरो अनियमित नियमितता जस्तै बनेको थियो। यस्तै मेसो अनुसार शनिबार सिनेमा हेर्नेबारे साथीहरुसँग सल्लाह थियो। शनिवार मेरा लागि जहिल्यै फुर्सद भित्रको अफुर्सद बन्छ। व्यक्तिगत कर्म, नुहाइ-धुवाइलगायत मौका मिले साथीभाइ घुमफिर त्यही दिन धान्नुपर्छ।

निकै बेरदेखि बजेको फोनतर्फ ध्यान लगाउँदा ‘हेल्लो’ भन्न नपाइ साथी जिस्किएको सम्झन्छु – ‘नयाँ साल लागेको यत्रो दिन लागिसक्दा पनि तँ सुध्रेनस् । हामी आइपुगेकै १५ मिनेट भो, आइज खुरुक्क सुन्धारा !’ ए, सुध्रिनलाई सुन्धारा पो पुग्नुपर्ने रहेछ ! नुहाएर आउँछु भनेर उत्तर बोल्दा-हाम्लाइ भेट्न नुहाइरहनु पर्दैन भनेर तिनीहरु पड्कन्थे । त्यसबेला नेपाली चलचित्र ‘रेसम फिलिली’ भर्खरै रिलिज भएको थियो । त्यही हेर्न हामी पनि सुन्धारास्थित सिभिल मलको टुप्पोमा पुगेका थियौं। टिकट लिएर हलभित्र छिर्नु अघिको समय साथीहरु भकुण्डो हुत्याएर लहरै रहेका पोलहरु लडाउने खेल ‐खेलको खास नाउँ के हो अहिले पनि जान्दिन) खेल्दै थिए । नामै नजानेको खेल म के खेल्थें, रेलिङमा आड लागेर हेर्दै थिएँ ।

सबैजना हामीजस्तै हल छिर्नु अघिको समयलाई आफ्नै शैलीमा व्यतित गरिहेका थिए । धेरैजसो आ-आफ्नो मोवाइलमा घोत्लिएका थिए । एक कोण पपकर्नलाइ केन्द्र पारेर ढल्किएका दुई थान टाउकाहरु पनि पपकर्नभन्दा निजका फोनहरुतर्फै बढ्ता ध्यान लगाएका देखिन्थे । मान्छेहरु आफ्नै मोवाइल हेर्न सिभिलमल सम्म किन पुग्छन् ? मैले त्यतिबेला मात्र होइन अहिले पनि बुझेको छैन । जे होस झुण्ड झुण्डका मस्ती हेरेर मै मस्त भएको थिएँ । अचानक सिभिल मल हल्लिन थाल्यो ।

शुरुको केही बेर के भएको भन्ने अनुमान भएन । कसैले बोल्यो – भुइँचालो ! मलाइ त्यसपछि बल्ल थाहा लाग्यो भुइँचालो रहेछ । हलभित्र हेर्न गएको हल नछिर्दै रेशम फिलिलि भइयो नि ! त्यसबखत कति अत्यास लाग्दो थियो । हलमा भयङ्कर कोलाहल मच्चियो । अग्लो भवनको सबैभन्दा माथि भएर पो हो कि, भूकम्पको धक्काले बढ्तै हल्लिएको जस्तो त्यसबेला लागेको थियो मलाई।

गुँड भत्किएका कमिला जस्ता भएका थिए मान्छेहरु। सबै आफ्नै सूरमा यताबाट उता, उताबाट यता दौडिरहेका थिए । ती दौडिनेहरुमध्ये एक म पनि थिएँ । के गर्ने भन्ने सूर भए पो गर्नु, अरुहरुले जसो गरे उसै गरियो ! जीन्दगीको ‘राम नाम सत्य’ त्यसैदिन रहेछ भन्नेमा म विश्वस्त थिएँ। त्यसैले थप दौडिन छोडेर पिल्लरको भित्तोमा अडिएँ।

एकछिन अघिसम्म अँगालो मारिरहेका प्रिय मान्छेहरु अहिले छिन्न-भिन्न देखिन्थे। एकजना अलिक वृद्ध देखिने बुवा पनि सकि नसकि ‘भगवानको लीला !’ ‘राम ! राम !!’ भन्दै सिँढी ओर्लँदै हुनुहुन्थ्यो । मानिसहरु सबैभन्दा अघि को पुग्ने झैं बुढो बालाई वास्ता नगरी तँछाढ-मछाड गर्दै दौडादौ गर्दै थिए । मानौं त्यहाँ कुनै दौड प्रतियोगिता भइरहेको छ। र, ती प्रतियोगी मध्ये एक दौडाहा म पनि थिएँ । मैले पनि ती बा’लाई उसैगरी छोडेको थिएँ जसरी अरुले छाडेर आफू अगाडि भागेका थिए। विपत्तिका बेला आफ्नो बाहेक अरुको ख्याल पुर्याउन फुर्सदै नहुने रहेछ ।

भवन बाहिर मूल सडकमा निस्कँदा सडकमा गाडि र मान्छेहरु खचाखच देखिन्थे। केही मोटरसाइकलहरु रोड मै पल्टिएका थिए । कतिपय घर पर्खाल भत्किएका थिए । टुँडिखेलको गेट लडेर मोटरसाइकललाइ थिचेको थियो । बीर अस्पतालका स्वास्थ्यकर्मीहरु सडक मै उपचारको प्रवन्ध मिलाउँदै थिए । सबैको अनुहार त्रसित थियो । ती तर्सिएका मुहारहरुमध्ये एउटा मुहार मेरो पनि थियो ।

सँगै सिनेमा हेर्न भनी भेटिएका, बरु गाँस छोड्नुपर्ने तर साथ छोड्न नहुने साथीहरु पो कतिबेला कहाँ छुटे ? बल्ल याद भएथ्यो । ‘आफू भलो त जगत भलो ?’ घरपरिवार पनि त्यो बखत याद आएथे । कसैसँग सम्पर्क हुन सकेन । मोवाइल फोनको नेटवर्कमा समस्या आइसकेको रहेछ। बल्ल मन आँत्तियो । साँची, गाउँका घर ढले की बाँकी छन् ? घरमा एक्लै भएकी बहिनी कुशल त छे ? के आमालाई दिदीले रक्षा गर्नुभो ? निकैबेरमा मोवाइल सम्पर्क भएपछि थाहा लाग्यो सबै सूरक्षित हुनुहुन्छ।

वीर अस्पतालमा घाइतेको चाप खचाखच थपिँदो थियो । स्वास्थ्यकर्मीहरु पनि के गर्ने के नगर्ने अलमलमा देखिन्थे । एक जना बुढो बुवा जो केहि बेर अघि भुकम्पको समयमा सिभिल मलको सिँढिमा ओर्लनेहरुको ठेलाइ झेल्दै हुनुन्थ्यो, उहाँलाइ कसैले बोकेर ल्याउँदै थियो । उहाँको निधारमा चोट देखिन्थ्यो । भुकम्पका बेला बेवास्ता गर्दै अगाडी दौडनेमध्ये एक म आफैं पनि हुँ भन्ने सम्झँदा अहिले पनि आत्मग्लानी हुन्छ । एक किसिमको हिनवोध अहिले पनि हुन्छ । ए बुढा बा – मिल्छ भने मलाई माफ गरिदिनु ।

उपलब्ध जनशक्तिले धान्न नसक्ने गरी त्यहाँ विरामीको भिड थियो । कसैले भन्दै थियो – ‘विपत्तीको बेलामा हामी सबै डाक्टर हौं । आउनुस् सबैले स्वास्थ्यकर्मीलाइ सहयोग गरौं ।’ उपचार गर्ने त्यो पनि मैले ? आजसम्म कहिल्यै नगरेको काम ! त्यही पनि वीर अस्पतालले उपलब्ध गराएको मास्क र पन्जा लगाएर कस्सिँए । प्राथामिक उपचारको काममा हामीहरु जुटेका थियौं। जटिल चोटग्रस्तहरुलाई डाक्टर भएठाउँसम्म पुर्याइदिन्थ्यौं । पछि बिस्तारै व्यवस्थित भयो।

नेपाली सेना तथा प्रहरीहरुले त्यहाँ सहयो गर्न थालेका थिए । त्यसबेलाको एउटा प्रसँग म अझै सम्झन्छु । मानिसहरु त्यहाँ नअटेका घाइतेहरुलाई सडकमा गुडेका जुन गाडि भेट्यो त्यसैमा चढाएर नजिकको अर्को अस्पताल लगिदिन आग्रह गरिरहेका थिए। चालकहरु पनि सकेको सहयोग गरिरहेका थिए।

एउटा आधा निलो आधा रातो प्लेट भएको सायद मन्त्रीको ? गाडि पनि वीर अस्पताल अघि जाममा थियो । उक्त गाडिलाई पनि कसैले एक जना विरामीलाई टिचिङ अस्पताल पुर्याइदिन आग्रह गर्दै थिए । गाडि चालक ‘मन्त्री लिन हिँडेको, ‘मिल्दैन’ भन्दै पन्छिन खोज्दै थिए। “विपदको बेलामा राजा न मन्त्री ! सबैले सहयोग गर्नुपर्छ ।’ मेरो मुखबाट फुत्कियो-मन्त्रीको गाडिले किन बिरामी बोक्न हुँदैन ? सबैले ‘हो हो’ भने । एकजना बिरामी सहित दुई जना आफन्त उक्त गाडिमा चढे।  तर, अहिले मलाइ के लाग्छ भने, मन्त्रीहरुले नितिगत निर्णय लिनुपर्छ । विपदका बेला झन धेरै समयको महत्व हुन्छ । हामिले त्यसरी अलमल्याउन हुन्नथ्यो कि ! माननिय पुर्व मन्त्रीज्यु ! तपाइँको गाडीलाइ बाटैमा अलमल्याएकोमा हामीलाई माफ गर्नुहोला ।

सबैभन्दा दु:खद कुरा मलाई त्यसबेला के लागेको थियो भने भिमसेन थापाले बनाएको ऐतिहासिक धरहरा लडेको थियो। राष्ट्रको धरोहर ढलेको थियो। मलाइ अलि बढी दु:ख लाग्नुको अर्को कारण पनि हुनसक्छ, मैले चढ्न नपाइ काठमाण्डौंको धरहरा ढल्यो ! साँच्चै मलाई धरहराप्रति लगाव रहेछ । ‘हेर्दा हेर्दै ढल्यो नि ! कति मान्छेहरु रेलिङबाट तल हेर्दै थिए। कोही चढ्दै थिए । कोहि ओर्लँदै थिए । सबैको एक चिहान भयो । त्यही पुरिए ।’ प्रत्यक्षदर्शी बताउने पानीवाला (जो मिनरल पानीका बोतल बेच्दै थिए) ले बताएका थिए। ती पुरिएकाहरुमा आफु कल्पिँए । एकछिन् मन सकस भयो । धरहरा चढ्ने रहर तत्क्षण खण्डहर भयो।

एकछिनपछि ७–८ जनाको एक हुल युवाहरु कतै फटाफट आउँदै गरेका देखिन्थे। तिनीहरुले आ-आफ्नो टाउकोमा नेपालको झण्डा बेरेका थिए । ‘बसन्तपुरमा धेरै मानिस पुरिए रे’ भन्दै थिए जाँदै थिए । मसँग उनीहरुले झैँ टाउकोमा बेर्न नेपालको झण्डा त थिएन तर म पनि रित्तै टाउको उनीहरुको पछि लागेर बसन्तपुर पुगें । त्यहाँ पनि कहालीलाग्दो वातावरण थियो । विदेशी पर्यटकहरु आँत्तिएका थिए।

नेपाली सेना त्यहाँ पनि खोज तथा उद्धारामा खटिइसकेका थिए। उपलब्ध मान्छेहरु सबै लाम लागेर इँटाहरु पन्छाउँदै नेपाली सेनालाइ सहयोग गरिरहेका थिए। ती झण्डावाला ८ जनाको झुन्डमा मिसिएको मसहित ९ जना पनि त्यहि लाइनमा इँटा पन्छाउन सहयोगी बन्यौं । त्यसअघि कहिल्यै नचिनिएका र फेरि कहिल्यै नभेटिएका ती आठैजना गर्विला साथीहरु (जसले सुन्धारातिर अलमलिइरहेको मलाई पनि उनीहरुको समूहमा मिसाएर गौरवान्वित पारेका थिए)लाई म अहिले सधन्यवाद हृदयदेखि नै सम्झिरहेको छु। एक झुन्ड साथीहरु ! धन्यवाद ।

साँझमा पुतलीसडक फर्किएँ । डेरा रत्न गल्लीबाट सर्यो । सिंहदरवारको भित्र खुल्ला चौरमा बस्ने भइयो । डराइ डराइ निकालिएका केहि थान ब्लाङ्केट्स थिए तर छानो त खुल्ला आकाश । सुत्ने ठाउँ ‘रिजर्भेशन’ गरिसकेपछि भिनाजु र म बजार निस्कियौं बेलुकीको खान्की जोहो गर्न । तन्दुरी पसलमा रोटी किन्ने अनि दही लैजाने सल्लाह गरेर दही त किन्यौं तर रोटी पाइन मुस्किल देखिन्थ्यो । रोटि किन्न त्यसरी त्यति लामो लाइन लागेको मैले पहिलोपल्ट देखेको थिएँ । दोस्रोपल्ट देखेको छैन । ‘सबैले बाँढेर खानुपर्छ । एकजनाले चार वटा मात्रे रोटी पाउँछ । पीठो सकिन लाग्यो ।’ साउजी भन्दै थिए ।

नियमानुसार हामीले पनि लाइनमा दुईजना भएका कारण आठ रोटिकी हकदार भयौं । ती आठ रोटी र एक लिटर दहीले त्यस साँझ हामी ६ जनाको छाक टारेको थियो । शरणार्थी शिविर जस्तो भएको थियो सिंहदरबारको चौर। सँधै हामीलाइ शहरीया रवाफ देखाउने पल्लो घरकी ‘घरवेटी आमा’ पनि त्यही शिवीरमा देखिइन् । के डेरावाला के घरवेटी ! एकैठाउँ ल्याइदिएको थियो भुइँचालोले। सबैभन्दा डर चाहिँ – अब झन् ठूलो आउँछ रे !, ध्वस्तै पार्छ रे !, प्रलय पो हुन्छ रे ! यस्ता ‘रे !’ ले तर्साउँथे । सबै त्यसै भन्थे । मलाई कता कता हो की झैं लाग्थ्यो  ।

काठमाडौको जीन्दगी त्रास र अभावको रह्यो । बिरामी आमालाइ सिंहदरवारको चौरमै दिदीलाई जिम्मा लगाएर दोलखा फर्किने विचारले पुरानो बसपार्कतिर बिहानै निकिएँ । बस पाउने छाँटकाँट थिएन । फर्किएँ । भोलिपल्ट पनि गएँ । हालत फेरि थियो । बसहरु पाइन्थे । सीटहरु पाइन्नथे । बसभाडा हजार तिरे छतमा डन्डीमा झुन्डिनलाई ठाउँ पाइन्थ्यो । तीन सय तिरे पुगिने दोलखा पुग्न हजार तिर्न बाध्य पारिएर छतमा झुन्ड्याइएका थिए यात्रुहरु । त्यसरी झुन्डिएकाहरुमध्ये छतमा झुन्डिने एक यात्रु म पनि थिएँ । विपदका बेला सहयोगी बन्नुपर्नेमा यातयात व्यवसायीहरु पनि ‘मौकामा चौका’ हानिरहेका थिए । प्रायः यातायात कम्पनीहरु आफ्नो नाउँका पछि ‘सेवा’ जोड्छन् । तर, त्यहाँ सेवाका नाममा खुलेआम लुट भइरहेको थियो । तिनीहरु विपदमा सहयोगी बनिदिएको भए हुने भन्ने अहिले पनि लाग्छ । डियर गाडीवाला ! त्यसो गर्न सकिन्नथ्यो ? के बाध्यता थियो र ?

बाटोमा बसको छतबाट देखिएका सिन्धुपाल्चोकका क्षतिग्रस्त घरहरुले त्रासको तह झन् बढायो । ती घरहरुमा म आफ्नो घर देख्थें । वातावरणले हो कि मनस्थितिले मनको स्थिति कहालीलाग्दो भएको थियो। गाउँमा आइपुग्दा जनजीवन अस्तव्यस्त अनि त्रस्त देखिएको थियो । घरहरु क्षतिग्रस्त अवस्थामा थिए। मानिसहरु के गर्ने के-नगर्ने भनेर अन्यौल मानसिकतामा गुज्रिरहेका थिए । गुँड भत्किएको चरा झैं बेघर भएका थिए । म पनि घर पुगें । घर पुगें कि घर भएठाउँ पुगें ? एउटा बेघर चरी, मेरी स्नेही बहिनी घर बाहिरै थिइँ।

मलिन मुहारले बोली -‘घर भत्किइहाल्यो दाइ !’ हाम्रो घर लडिहालेको त थिएन । तर, नराम्ररी चर्किएको थियो । पहिले म घर पुग्नासाथ सरासर घरभित्र पुग्थें । मलाइ घरप्रति कत्रो लगाव थियो । मलाइ मेरो घरप्रति कति विश्वास थियो । साँच्चै मेरो घर मेरा लागि कति ठूलो भर थियो । घरभित्र हुँदा आफूलाइ सुरक्षित ठान्थें । त्यसदिन त्यस घरमा सँधैजस्तै सरासर पुगेको थिएँ । तर म घर बाहिर मात्र पुगेको थिएँ । मलाइ त्यत्रो भर दिइरहेको घरले मलाइ किन डर दिइरहेको थियो ? ए घर, मलाइ किन डर दिइएको थियो? एकफेर म एउटा लाइटर निकाल्ने कामले घरभित्र पसेको थिएँ, पसेको मात्र के थिएँ एकै श्वासमा म बाहिर निस्किएको थिएँ । मलाइ त्यत्रो डर यही घरले दिएको थियो जो मलाई बाल्यकालमा भर दिएको थियो ।

गाउँमा मुख्य समस्या नै बासको थियो । व्यक्तिगत बास बस्ने अस्थायी बन्दोबस्त गर्नको लागि तत्काल सम्भव भएको थिएन । माथिल्लो घर ढुंगेल दाजुले टमाटर रोप्न लगाएको ‘टनेल’ हामी सबै टोलबासीको घर बन्यो । त्यसैमुनि लहरै ओछ्यान् लगाएर सुत्यौं । एकदिन त हुरी बताससहितको पानीले त्यही पनि उडाइदियो । टालटुल पारेर फेरि लगायौं। त्यसबेलाको कष्ट अहिले सम्झिन त मन छैन। तर, बिर्सन पनि त कहाँ सकिँदो रहेछ र ! खासगरी टोलका महिला, बालबालिका तथा वृद्धावस्थाका सदस्यलाई असाध्यै कष्ट पुगेको थियो । हामीलाई निकैबेर ओत दिने टनेललाइ धन्यवाद। ए ‘टनेल’, थ्याङ्क्यु यार!

गाउँमा उपलब्ध चित्रो भकारीहरु अपर्याप्त थिए । फेरि तिनले पानी पनि तर्काउन्नथे । चित्रोमाथि प्लास्टिक या पाल राख्न सके त गज्जब हुन्थ्यो। तर त्यसबेलाको त्रिपाल र हिमालयन यति एउटै थियो । पाइन्छ रे ! आयो रे ! ल्याए रे ! प्रशस्त सुनिन्थ्यो तर कतै देखिन्नथ्यो। बाँड्नेहरु पनि सडकको पहुँचका आधारमा मास्तिरै त्रिपाल खाद्यान्न बाँडेर फर्कन्थे। आकाशमा हेलिकप्टरहरु बाक्लै उड्थे । गाउँलेका आशाका आँखा पनि ‘मास्तिरै’ हेर्थे । हजुरआमाले एक दिन भन्नुभएको थियो – ‘सर्खारले यता चाहिँ हेदैन क्या हो बाबु !’ ए सर्खार , साँची त्यसबेला हाम्री हजुरआमालाई किन हेरेनौ ? सायद अन्य ठाउँमा जाँदा भ्याएनौ होला । ‘होइन भने हाइन भन क्यारे सर्खार !’

बल्लतल्ल गाउँमा पालहरु आइपुग्न लागे । त्यसपछि आ आफ्नै पाल घर बनाउँदै एउटै परिवार बनेको ‘टनेल घर’बाट मानिसहरु ‘भिन्दो’ हुन थाले । गाउँमा काठबाँसको त समस्या नहुने तर छानोकै समस्या हुने रहेछ । हार्डवेयर पसलहरुमा सकिएका जस्तापाताहरु नआउन्जेल मानिसहरु पालमुनि नै पालिए । छानोमा हामी यति परनिर्भर बनिसकेछौं कि अलिकता ‘राहत थाप्ने ‘लोभमा दिनभर लाम लाग्न सक्ने हामी गाउँमा पाइने छ्वाली, खर आदिले सहजै सकिने छानो छाउने सीप कसैसँग रहेनछ।

विपत्तिमा विकल्प पो सोच्नुपर्ने रहेछ । ‘कटेज’ बन्न पनि सानो दु:खले सम्भव भएको थिएन। जस्ताको छानो जस्ता कै बारबेर पारेर बनाइएको एउटा अस्थायी कटेरो (जो कटेज नाउँले गाउँभरि प्रसिद्ध भयो),ले हाम्रो परिवार करिब २ वर्ष पाल्यो । एउटा कोठा । त्यही भान्छा, त्यही सुत्ने, पढ्ने, घरभरिका सामान अटाइदिने त्यही। सम्पूर्ण घर त्यही कटेरो भएको थियो  हाम्रो लागि। भन्ने परेन कष्टकर जरुर थियो । हामीलाई छानो दिने त्यो एक कोठे ‘कटेज’ अहिले पनि दाउरा तथा अन्य राखन-धरनलाइ ओत मात्र दिइरहेको छैन करिव दुईवर्षको कटेज बसाइले नयाँ घर पुनर्निमाणको अनुभव पढाउन समेत सफल रहेको छ।

मेरो गाउँको नाउँ काटाकुटी जो काष्ठकुटीबाट बन्यो, काष्ठमण्डपबाट काठमाण्डु बनेजसरी । मान्छेहरु मेरो गाउँलाई सशंकित हुँदै सोध्छन् – काटाकुटी कस्तो डरमर्दो नाम ? काट्ने कुट्ने गाउँ ? ए डरपोक मनुवाहरु ! नडराओ । यो काटाकुटी काष्टकुटी थियो । योगीहरुको तपोभुमी थियो।

काटाकुटीको भूकम्प पछिको परिदृष्य हेर्ने हो भने केही घरहरुका धुरीले गारोको आड पाउन छोडेपछि भुइँमा बजारिएका थिए । तर धेरै घरहरु त्यसरी भुइँमै छानो पुग्ने गरी गर्ल्यामगर्लुम्म लडेका थिएनन् । घरहरुमा क्षति पुगेका थिए तर टाढाबाट हेर्दा घरहरु ठाडै देखिन्थे । ‘दोलखामा खासै क्षति छैन’ भन्ने अभिव्यक्ति दिने दोलखाका एकजना तत्कालिन प्रशासकीय अधिकारीले दोलखालीको ‘राम्रै खप्की’ भेटेका थिए। धन्न नराम्रो हुन पाएन । ए दोलखाली लोग ! उनी चढेको हेलिकप्टरबाट तिम्रा-हाम्रा घरका छाना धुर मै देखिन्थे। भुइँमा देखिन्नथे । त्यसमा तिनको के दोष ? दोष हेलिकप्टरको हो । दोषी हेलिकप्टरलाई कारवाही गरियोस् । डियर हेलिकप्टर ! मलाई माफ गरियोस् । तर, दु:खभित्र पनि सुखद कुरा यो थियो की घरहरु गर्ल्यामगर्लुम्म नलडेका कारण काटाकुटीबासीले कुनै मानवीय क्षति व्यहोर्नुपरेन ।

यता, सरकारी लगायत अन्य सञ्चार माध्यममा बार बार एउटै कुराहरु दोहोरिन्थे, ‘अबका वर्ष पुनर्निमाणको वर्ष हुने, नेपाललाई सुरक्षित पुनर्निमाणको सुनौलो अबसर भएको, भूकम्प प्रतिरोधि घर पुनर्निमाणमा सरकारले अनुदान दिने।’  त्यो बेलाका यी आशालाग्दा समाचारहरु यस्ता थिए । मौलिकता हराउने हो कि भन्ने चिन्ताले पनि त्यसबखतका चिन्तकहरु चिन्तिन्थे ।

नयाँ बन्नको लागि पुरानोको अस्तित्व मेटिनुपर्छ । साँच्चै, नयाँ बन्न पुरानो हटाउनैपर्छ ? काटाकुटीमा पनि पुनर्निमाणको सुरुवात पुराना क्षतिग्रस्त घरहरुलाइ भत्काएरै भएको थियो। भूकम्पका धक्काले हाम्रो घरको पनि मेरुदण्ड भाँच्चिएको मान्छे जस्तो उभिएको थियो । बाङ्गा वस्तुहरु झेल्न अलि कठिन हुने रहेछ । बाङ्गा घरहरु, बाङ्गा मुढाहरु, बाङ्गा मान्छेहरु ! ए बाङ्गो घर– हामीलाइ तेरो चुनौती स्वीकार छ, भत्किन तयार हुनु । मनमनै त्यस्तो धम्की मैले मेरो बाङ्गो घरलाई दिएको थिएँ । तर हामीलाई घरले नभत्किउन्जेल सामना गर्यो । हामीले घरलाई नभत्काउन्जेल सह्यो।

हाम्रो बाङ्गो घर त्यसरी भत्काउनुअघि मैले मेरा सोझो स्वर्गीय बुवालाइ सम्झिएको थिएँ। जसले मलाइ नौ वर्षको छँदै छोडेर गएपनि हामीलाइ त्यो घर बनाइदिएर जानुभएको थियो । उहाँको जीवनको कमाइको एक महत्वपूर्ण हिस्सा, जो काठमाण्डु इन्द्रचोकतिरका गल्लीहरुमा सुनौला पसिनाले सिंचित गरेर छोराछोरीका खुशीका खातिर कमाइएका थिए। भरिया जीन्दगीको अमुल्य समय, बुवाको अनमोल श्रम त्यो घरमा लगानी भएका थिए । गारोका प्रत्येक ढु∙ामा, प्रत्येक काठपात, दलीनहरुमा म बुवाको मेहेनत प्रष्ट देख्थें । हामीलाई घरभित्र राख्नु उहाँको कत्रो योगदान रहेछ मैले त्यसबेला महसुश गरेको थिएँ । पूज्यनीय बुवा ! म तपाइँको ऋण तिर्न सक्दिन । कृपा गरेर आफ्नो खातामा ‘चुक्ता’ लेखिदिनुहुन्छ कि ? अँ, ‘बा’ बोरो !’ व्याज त हिसाबै नगरे हुन्छ सकुँला र?

बुवाको त्यत्रो मिहेनतले ठडिएको घर ढलाएर पन्छाउन हामीलाई एघार दिन लाग्यो। आफूबाहेक रु एकचालिस हजार दुई सय पचास ज्याला मैले तिर्नुपरेको थियो । बुवाको एक डायरीमा उल्लेखित हिसाबलाई आधार मान्ने हो भने त्यसबेला यो घर बन्न १ लाख २१ हजार ७ सय २० रुपैंया लागेको रहेछ। जसमा मैले घर भत्काउँदा आफ्नो खर्च नजोडेजस्तै बुवाको श्रम त्यसमा जोडिएको थिएन। सबै तिर्नुपर्ने रकमहरुमा गोलो घेरा लगाएर ‘चुक्ता’ लेखिएका थियो। तर, माफी पाऊँ बा’ मैले अहिले घर बनाउँदा लागेको खर्चमध्ये कतिपय रकमहरुमा अझै ‘चुक्ता’ लेख्न बाँकी छ । अवश्य लेख्नेछु, निश्चिन्त हुनुस् ।

नीजी आवास पुनर्निमाणका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने भयो । तर सो रकम सशर्त थियो । मापदण्ड पूरा गरी घर बनाउनुपर्ने । अनुदान किस्ताबन्दीमा पाइने । भूकम्प, परकम्पहरुले किस्ता-किस्तामा हाम्रो घरको चर्काइ बढाएजस्तै ! गाउँमा सबैभन्दा अप्ठ्यारो यही थियो, अनुदान लिन भूकम्प प्रतिरोधि घर बनाउनुपर्ने । भूकम्प प्रतिरोधि घर कसरी बन्छ जान्ने कोही थिएनन्। सरकारले दाता सम्मेलन गरेर प्रशस्तै रकम जम्मा गरेकोले सरकारसँग टन्नै पूँजी छ । पक्की घर सबैलाई बनाइदिन्छ भन्नेहरु पनि थिए। भूकम्प प्रतिरोधि घर बारेका जानकारीमूलक सामाग्रीहरु त्यसबेला रेडियो टेलिभिजनहरुमा छ्यापछ्याप्ति देख्न सुन्न पाइन्थ्यो ।

कागजका पर्चाहरु पनि भेटिन्थे भूकम्प प्रतिरोधि घरबारे बनाइएका। त्यसबाहेक कसैलाई यसबारे ज्ञान थिएन । डकर्मीहरुमा पनि अन्यौल थियो । प्राविधिकहरु खटिएका थिएनन् । कतिपय घरहरु त्यहि ज्ञानको अभावका बीच पनि बनेका थिए । त्यसबेला अनुदान भन्दा पनि टहरे जीन्दगीमा पारिवारिक आवश्यकता अनि बाध्यताले गाउँलेलाई नजिकबाट गाँजेको थियो। फलानो घर यसरी भत्कियो, फलानो यसरी भत्किएन, ठूलो घर बनाउन नहुने रहेछ, नश कस्नु पर्नेरहेछ लगायतका  ज्ञान, सीप र जानकारी भूकम्पपछि मात्रै डकर्मीहरुमा बोध हुन थालेको थियो।  यसअघि त उनीहरु अनुमानका आधारमा पनि भूकम्प लगत्तै केही घरहरु बनाइसकेका थिए।

गाउँमा प्राविधिकहरु खटिने, अभिमूखीकरण कार्यक्रमहरु र डकर्मी तालिमहरु सञ्चालन हुन थालेपछि भने पुनर्निमाणले गति लिन थालेको थियो। ‘भूकम्पको घर’ कस्तो बनाउने भन्ने सीप स्थानीय डकर्मीहरुले जानेका थिए । यसको श्रेय पुनर्निमाणमा काम गरिरहेका संघसंस्थाहरुलाइ जान्छ । त्यसबेला तालिम लिएर आउनुभएका डकर्मी काका भन्नुहुन्थ्यो – ‘भुकम्पको घर बनाउन अब जानियो। एनसेटले दिएको तालिम राम्रो लाग्यो । तालिम लिएका डकर्मीहरुको तिनचारोटा समूह बनाएर घर बनाउनुपर्छ भनेका छन् ।’

त्यसबेला ‘भूकम्पको घर’ भन्नाले बिभिन्न डि.पि.सी. -बन्धनहरु राखेर बनाइने दुइ कोठे घर बुझिन्थ्यो । ठूलो घर बनाउन पाइँदैन । अग्लो घर बनाउन पाइँदैन । बनाए पास हुँदैन अनुदान पाइँदैन । यस्ता कुराले त्यसबखत मानिसलाई साँच्चै खुम्च्याएको थियो। आफुखुशी बनाउन पनि नसकिने अनुदान लिउँ घर साह्रै सानो ! इन्जिनियरहरुसँग गाउँलेको प्रमुख टकराव नै ‘यत्रो घरमा कसरी अट्ने, अलि अग्लो बनाउन देऊ’ भन्ने नै हुन्थ्यो । कहिलेकाहिँ यो ‘टकराव’ले ठूलो रुप लिन्थ्यो । एकफेर एकजना इन्जिनियर बनिरहेको घरमा पुगेछन् । यो मिलेन त्यो मिलेन भन्न थालेछन् । लगाएको गारो भत्काइ दिएछन् । त्यसपछि गाउँलेहरुको झोकमा – ‘अगाडि नआउने अनि एकछिन आएर यता मिलेन त्यता मिलेन भनेर हप्काउने ?’ भनेर डकर्मीले इन्जिनियर बहिस्कार गर्नेसम्मको अवस्था आएर तत्कालिन गा.वि.स. कार्यालयले संयोजन बैठकै राख्न परेको थियो। बैठकपछि ‘चित्त माझामाझ’ गरेका उनिहरु त्यसपछि पनि बेलामौकामा आपसी चित्तदुखाइ गर्थे । मुख्य विषय त उही थियो– ‘यत्रो घरमा कसरी अट्ने ? ए इन्जिनियर सर ! अलि अग्लो बनाउन देऊ ।’ मलाइ पनि लाग्थ्यो, ए इन्जिनियर सर ! घर अग्लै बनाउन दिनुस्, तपाइँको के जान्छ ? फेरि सोच्थें, सायद तिनको जागिर जान्छ । जागिरै जान पनि त भएन साँची ।

केहिले आवश्यकताले बाहेक धेरैले विलखवन्धनमा परेर दुइ कोठे घरहरु बनाए । त्यस्तै दुइकोठे घरधनीमध्ये एक म पनि हुँ । जो मेरा प्रिय बा’ले बनाइदिएको तीनतले घरबाट आफैंले बनाएको दुइ कोठामा साँघुरिएको छु । पहिले हाम्रो घरमा भिन्दै पुजाकोठा थियो । भण्डारकोठा थियो । बुइँगल थियो । बार्दलीभरी कोठाहरु थिए । चुलो कोठा थियो त्यहाँ पनि चौको, मुल अँगेनो, मुल ओछ्यान जस्ता ठाउँहरु थिए । मुल थाम, आँटोहरुले आ–आफ्नै सांस्कृृतिक अर्थ बोकेका हुन्छन् ।

तिनीहरुले प्रतीकहरुको प्रतिनिधित्व गरिरहेका हुन्थे । अहिलेको हाम्रो घरमा एउटा कोठा सुत्न, एउटा भान्छाका रुपमा प्रयोगमा छन् । ‘कोठाका देउता खोपामा’ सरेका छन्। अर्थोक भन्दा पाहुना आउँदा समस्या । ओछ्यान लगाइदिने ठाउँ पुग्दैन । बुइँगलमा उक्लियो भ्याल्सीमा ड्याङ्∙ टाउको ठोकिन्छ । तिरमिराउँदै तल ओर्लनुपर्छ । म मेरै घरमा कैयौंपल्ट त्यसरी तिरमिराएको छु । ड्याङ्∙ । तिरिमिरी ।

भुकम्प पछि गाउँको मुहार भने अवश्य फेरिएको छ । घरहरु नयाँ बन्नाले बस्ती नै नवीन भएको छ । घरहरु भुकम्प प्रतिरोधी भएका छन् । पानी चुहिएर फेर्ने अबस्थामा पुगेको मेरै घर अहिले नचुहिने भएको छ । बलिया घरहरु बने । घरहरुको बलियोपना कसरी नाप्ने ? डियर भुइँचालो, एकफेर फेरि आइदिने कि यता ? थैट ! भो भो । कष्ट नगरियोस् । तर आइहाले पनि पहिलेजसरी हाम्रो घरलाई बा∙ो पार्न सक्दैनस् । थाहा छ भुइँचालो ! हामिले घर बलियो बनाएका छौं नि । पुनर्निमाण कार्यक्रमको सबैभन्दा सुखद पक्ष नै यहि हो । घरहरु भुकम्प प्रतिरोधि बने ।

पुनर्निमाण कार्यमा धन्यवादको मूख्य पात्र नेपाल सरकार हो । भलै मेरा गुनासा धेरै छन् यसका प्रति त्यसैले आलोचनाको मुख्य पात्र पनि यहि हो । नेपाल सरकार जसले क्षतिग्रस्त नीजि आवास तथा समग्र पुनर्निमाण गर्न पुननिर्माण प्राधिकरण गठन गरि अनुदान कार्यक्रम ल्यायो यसले जनतालाइ आफ्नो घर बनाउन थोरै भएपनि भर ग¥यो । दातृ निकायहरु जसले पीडितहरुको पिडामा मलम बन्न आर्थिक भौतिक सहायता तथा साझेदारी प्रदान गरे ।

विभिन्न संघ संस्थाहरु जसले सरकार र जनताका बीच पुल बनी सहजकर्ताका रुपमा काम गर्न सके । घरधनीहरु जसले अनुदान कार्यक्रम अनुसार घरहरु बनाएर महत्वपुर्ण भूमिका निर्वाह गरे, लगायत सबै सम्बद्धहरु धन्यवादका योग्य छन् । त्यसबेला सुनेको मात्र भूकम्प प्रतिरोधि शब्द अहिले घरगाउँलेले पनि सहज अर्थ लाउन सक्ने भएका छन् । उनीहरुका घर नै भुकम्प प्रतिरोधिको अर्थ बोक्दछन् । गाउँ मै दक्ष डकर्मीहरु उत्पादन भएका छन् ।

स्थानीय सरजम कै उपयोगबाट पनि बलिया संरचना बनाउन सकिन्छ भन्ने सिकाइ भएको छ । प्रविधिको दीगो प्रर्वधन हुन्छ कि त ? जाग्दो आशाकोे श्रेय पनि नेपाल सरकार तथा विभन्न दातृ निकाय अनि संघ संथाहरुलाइ नै जान्छ । यसबखत खटिएका दक्ष प्राविधिक सामाजिक जनशक्तिले फैलाएका ज्ञान् अनमोल छन् । पुनर्निमाणमा जोडिएका यि सबै पक्षहरुको भुमिका अनुपम छन् । ‘छैनन् भने छैनन् भन्नुुस् के रे !’

पुनर्निमाण कार्यक्रम महत्वपूर्ण अवसरका रुपमा उपयोग भएको हुँदाहुँदै हामी सबै चुक्यौं कि भन्ने लाग्छ । मलाई के लाग्छ कि, ‐मलाई मात्र लागेको हो कि तपाईंलाइ पनि लागेको हो मनन् गर्नुस् । गर्नुभो ?) सबैभन्दा पहिले हामिले हाम्रो मौलिकता गुमायौं । पर्याप्त ज्ञानको कमी, पुनर्निमाण अनुदान कार्यक्रमका सिमितता, थप आर्थिक बोझ थाम्न असमर्थ भुकम्प पिडितका बाध्यता जस्ता कारण साना घरहरु बने । यसमा घरधनीका रहर भन्दा बाध्यता धेरै छन् । पुननिर्माण प्राधिकरणले पनि घरधनीलाइ सोझै अनुदान दिनेभन्दापनि झन्झटिलो प्रक्रियागत लम्बाइ बढाएको अनि प्रसासनिक खर्च अलि बढि गरेकै हो । संयन्त्रको चुस्त परिचालन गर्न नसक्नु, प्राधिकरणको नेतृत्व फेरबदल गरिरहनु सरकारी दोष रह्यो । तैपनि पुनर्निमाण कार्यक्रम सफलतापुर्वक सम्पन्न उन्मुख छ ।

तर, अहिले मैले मेरो गाउँमा केहि चुनौतीहरु पनि देखेको छु । अधिकांश घरधनीहरुका घरले तिनका पारिवारिक, सांस्कृतिक, सामाजिक आवश्यकता नधानेका कारण थप संरचना निर्माण गर्न वाध्य देखिन्छन् । त्यसरि बन्ने घरहरु पनि भुकम्प प्रतिरोधि नै बन्छन् ? आशंका गर्ने ठाउँहरु छन् । कतिपय घरधनीहरुले निजी आवास पुनर्निमाण कार्यक्रम मार्फत अनुदान लिएर घर बनाए पनि आफ्ना पुराना घर पनि प्रयोगमा ल्याइरहेका छन् । त्यस्ता संरचनाहरु भूकम्पीय जोखिमका दृष्टिकोणले जोखिमयुक्त छन् । त्यस्ता घरहरु प्रयोग भइरहनुमा पनि बिभिन्न बाध्यताहरु जोडिएका छन् ।

कम्तिमा ती घरहरुले आफ्ना घरका कृषि उपज, डोका, डाला, फुङ्ला, पोका, पन्तेरा, बस्तुभाउ, घाँसपात आदीलाइ ओत दिइरहेका छन् । त्यस्ता चीजबस्तु ओताउन अर्को घर बनाउने क्षेमता पनि छैन । व्यबस्थापकिय चिन्ता नै मूख्य देखिन्छ । मैले मेरै कटेरो नभत्काएजस्तै तिनले आफ्ना सरजमको ‘ओत घर’ किन भत्काउँछन् ! तर, त्यस्ता जोखिमयुक्त घरहरुलाई सम्भाव्यता हेरि भुकम्पीय प्रवलिकरण गर्ने हो भने त्यसको बहुपक्षीय फाइदाहरु हुने देखिन्छ। आवश्यकताका हिसावले धान्ने, सामाजिक, साँस्कृतिक मौलिकता जोगिने, आर्थिक बोझ कम हुने, भूकम्पीय जोखिम कम, सुरक्षित समुदाय निर्माण हुने अवस्था सिर्जना हुन सक्दछ। त्यस्ता जोखिमयुक्त घरहरुलाई सम्भव भएसम्म प्रवलीकरण गरी अन्यलाई हटाउनेतर्फ आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। राज्यले, नागरिकले विपद जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रममा सँधै ध्यान पुर्याउनुपर्छ ।

अन्त्यमा,

एउटा कुरा, मेरो मनमा सँधै घुमिरहन्छ । मेरा हजुरबुवाले आफ्नो पालामा घर बनाउनुभयो । बुवाले त्यसैगरी दुखले बनाउनुभयो । अहिले म निरन्तरता दिँदैछु यसरी पुस्तैनी घर बनाउने शृङ्खलाबद्ध कार्यको । प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा एउटा घर बनाउनै पर्ने हो ? हुन त प्रत्येक सांसारिक प्राणीले ‘घरजम’ गर्नु आवश्यक छ ।

ओ मान्छे ! के तपाइँले घरजम गर्नुभो ? ठुल्ठुलाा घरहरु बनाउनु अचेल समृद्धि कहलिन थाल्यो । के तपाइँ ‘समृद्ध’ हुनुन्छ ? यस्तै हो भने हाम्रो पालामा एउटा घरले नपुग्ने भो । दुइतिन घर बनाउनुपर्ने भो । धान्न सकिन्छ मान्छेहरु ! एउटै घरले पुस्तौं पुस्ता टिक्ने दीगो आवास निर्माण गरी दीगो बस्ती बसाल्नेतर्फ अबको कदम चाल्न सकिन्न र ?

हेल्लो प्राविधिज्ञजन् ! लौ न सकिन्न र ? नत्र हेर्नुस् त, हर मानिसले आफ्नो जीवनको महत्वपूर्ण कमाइको हिस्सा घर बनाएरै सक्ने रहेछ। एउटा पुस्ताले घर बनाउन खर्च गर्न नपर्ने भयो भने देशले कति पूँजी जोगाउँछ ? ए समाजशास्त्रीहरु ! कति जोगाउँछ ? अर्थशास्त्रीहरुले पनि हिसाब गर्ने की ?!!