निफ आठौँ संस्करणको लाईनअप सार्वजनिक

४० देशका ८७ फिल्म स्क्रिनिङ हुने गरी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले आठौँ संस्करणको लाइन अप सार्वजनिक गरेको छ । 

 सार्वजनिक लाइनअपअनुसार वर्ल्ड पानोरमा विधा (अन्तर्राष्ट्रिय प्रतिस्पर्धा)मा नेपालको ‘शाम्बाला’, भारतको ‘रुक्मिणी’, चीनको ‘स्ट्रेन्जर्स ह्वेन वी मिट’सहित १२ फिल्म मनोनयनमा छन् । अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधाको प्रतिस्पर्धामा नेपालको ‘हिमालयन ड्रिम्स’सहित अमेरिका, भारत, बङ्गलादेश, बेल्जियम, चिली, न्यूजिल्याण्डका ९ फिल्म छनोट छन् । छोटो फिल्मको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा ३२ फिल्म छन् । यो विधामा मलेसियाको ‘चाइना बिस्ट’, अस्ट्रेलियाको ‘ड्रिम लिङ्क’, चीनको ‘अ इयर अपार्ट’ लगायत छन् ।

पहिलो पटक निफले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतमा बनाइएका फिल्मको प्रतिस्पर्धात्मक विधा समेत समावेश गरेको छ । ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिसटेसन अफ योर्स क्यान डिस्ट्रोय द वर्ल्ड’, अर्जेन्टिनाको ‘द एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरुको ‘द ड्रिम, द फग एन्ड द रेन’ र अमेरिकाको ‘मब पार्ट १’ छन् । पहिलो पटक नेपाली फिल्म फेस्टिभलमा कृत्रिम बौद्धिकता भनिने एआईले बनाएका ५ फिल्मले प्रतिस्पर्धा गर्न लागेका हुन् । 

नेपाली कथानक फिल्मको प्रतिस्पर्धा नेसनल पानोरमामा ४ फिल्म छनोट छन् । जसमा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छन् । यो फिल्म नेपालका हलमा भन्दा निफमा पहिल्यै स्क्रिनिङ हुन लागेको हो । 

नेपाली डकुमेन्ट्रीको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ छन् ।

नेपाली छोटा फिल्मको प्रतिस्पर्धामा १९ फिल्म छनोट भएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल चैत ७ देखि ११ सम्म काठमाडौँमा आयोजना हुनेछ । ओपनिङ र क्लोजिङ फिल्म भने तय हुन बाँकी छ ।