‘बलिदान’को प्रि–क्लाइमेक्समा हजारौं दर्शक (फोटो फिचरसहित)
फिल्म ‘बलिदान’को प्रि–क्लाइमेक्स’को दृश्यको छायांकन सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सिमसार कालिचौरमा १० हजार बढी मानिसहरूलाई सहभागी गराउँदै प्रि–क्लाइमेक्सको दृश्य खिचिएको निर्माणपक्षले बताएको छ ।
काल्पनिक राज्य भिलमगढका कुटिल राक्षसलाई समाप्त पारेर युग पुरुष नायकले आह्वान गरेको एकता सभामा रौद्र अवतारकी काली माताको भव्य मुर्तिको उद्घाटन गर्ने दृश्यको छायांकन भएको निर्देशक सन्तोष सेनको भनाई छ ।
निर्माणपक्षले महोत्सवको आयोजना गर्दै दर्शकलाई सहभागी हुन आह्वान गरेको थियो । निर्माणपक्षको आव्हानमा हजारौं दर्शक उक्त चौरमा उपस्थित भएका थिए ।
यो छायांकनमा फिल्मका मुख्य कलाकारहरू समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, कामेश्वर चौरासिया लगायत सहभागी थिए । अब, फिल्मको जम्मा ३ प्रतिशत छायांकन बाँकी छ । बिहिबार छायांकन हुन लागेको एक्सन दृश्यका लागि दक्षिण भारतीय एक्सन कलाकारहरुको टोली सिमसारमा पुग्दैछ । समीरले डेढ सय भिलेनसँग एक्सन गर्नेछन् ।
यो दृश्य खिचेपछि फिल्मको सम्पूर्ण छायांकन सकिने र निर्माणपक्षले त्यसपछि प्रदर्शन मिति तय गर्ने बताएको छ । सन्तोष सेनको निर्देशनमा तयार भइरहेको यो फिल्म छायांकन सुरु भएदेखि नै चर्चामा छ ।
प्रतिक्रिया