२०२४मा बक्सअफिसमा सर्वाधिक कमाउने दश हिन्दी फिल्म

सन् २०२४मा भारतीय फिल्मले सुखद व्यापार गर्न सफल भए । बलिउड देखि दक्षिण भारतीय सिनेमा सम्म बक्स अफिसमा सफल साबित भए । ठुला र साना बजेटका दुवै प्रकारका भारतीय फिल्मले यस पटक बक्स अफिसमा राम्रो कमाई गर्न सफल भए  ।

यतिखेर अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा-२’ बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। ५ डिसेम्बरबाट रिलिज भएको यस फिल्मले विश्वभरिबाट १७१९ करोड भारु कमाइसकेको छ। योसँगै ‘पुष्पा-२’ यस वर्षकै सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ।

त्यस्तै, यो वर्ष सर्वाधिक कमाइ गर्ने दोस्रो स्थानमा दक्षिण भारतीय फिल्म ‘कल्की: २८९८ एडी’ रहेको छ। प्रभास स्टारर यस फिल्मले १ हजार ४२ करोड भारुको व्यापार गर्न सफल भएको छ । यस फिल्ममा प्रभाससहित दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

दुई दक्षिण भारतीय फिल्म पछि अगस्ट १५ मा रिलिज भएको बलिउड फिल्म ‘स्त्री २’ सर्वाधिक कमाइ गर्ने फिल्मको तेस्रो नम्बरमा छ । श्रद्धा कपुर र राजकुमार रावको मुख्य भूमिका रहेको ‘स्त्री २’ बलिउडकै ब्लकबस्टर फिल्म हो। यस फिल्मले विश्वभर ८ सय ७४ करोड ग्रस कलेक्सन गरेको थियो।

त्यसैगरि, साउथ स्टार थलापति विजयको ‘द ग्रेटेस्ट अफ अल टाइम’ धेरै कमाउने चौथो फिल्म बनेको छ । सेप्टेम्बर ५ बाट प्रदर्शन भएको यस फिल्मले विश्वभरिबाट ४५६ करोड भारु कमाएको थियो । साथै यो फिल्म वर्षकै सबैभन्दा धेरै कमाउने तमिल फिल्म समेत बन्न सफल भएको छ ।

एनटीआर जुनियर स्टारर तेलुगु फिल्म ‘देवरा: पार्ट १’ अत्यधिक कमाई गर्ने सूचीको पाँचौँ नम्बरमा छ। २७ सेप्टेम्बरमा रिलिज भएको यस फिल्मले विश्वभरिबाट ४०३ करोड भारु कमाएको थियो। कोराताला शिवाको लेखन तथा निर्देशन रहेको यस फिल्ममा एनटीआरसँगै सैफ अलि खान र जाह्नवी कपुर मुख्य भूमिकामा छन्।

कार्तिक आर्यन र तृप्ति डिमरी अभिनीत बलिउड फिल्म ‘भुलभुलैया ३’ बक्स अफिसमा हिट साबित भयो । दुई हिट शृङ्खलाको सफलतालाई निरन्तरता दिँदै ‘भुल भुलभुलैया ३’ ले ३५० करोड भारु कमाउँदै वर्षकै छैंटो हिट फिल्म को सूचीमा आफूलाई स्थापित गर्‍यो। 

सातौँ नम्बरमा भने अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंग अगेन’ रहेको छ। ‘भुल भुलभुलैया ३’ सँगै रिलिज भएको यस फिल्मले पनि बक्स अफिसमा ३८९ करोड भारु कमायो। अजय देवगण स्टारर यो वर्षको तेस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो। यस फिल्ममा अजयसहित सलमान खान, अक्षय कुमार, करिना कपुर, दीपिका पादुकोण लगायतको अभिनय छ।

ऋतिक रोशनको फिल्म ‘फाइटर’ पनि यस वर्षको सफल फिल्ममा पर्छ । २५ जनवरीमा रिलिज भएको यस फिल्ममा ऋतिकसहित दीपिका पादुकोणको मुख्य भूमिका रहेको छ । सिद्धार्थ आनन्द निर्देशित यस फिल्मले ३४४ करोड भारु कमाएको हो ।

राजकुमार पेरियासामी निर्देशित बायोपिक फिल्म ‘अमरन’ यस वर्षको हिट फिल्म हो। शिवकार्तिकेयन अभिनीत यस फिल्मले ३०० करोड बढी कमाइ गरेको छ । यस फिल्ममा अभिनेता शिवकार्तिकेयनसहित साई पल्लवी मुख्य भूमिकामा छिन्।

तेजा सिज्जा स्टारर सुपर हिरो फिल्म ‘हनुमान’ यो वर्ष धेरै कमाउने दसौँ फिल्म हो। प्रशान्त बर्मा निर्देशित ‘हनुमान’ ले ३०० करोड भारुको व्यापार गरेको थियो।

यद्धपी, यस वर्ष ‘बडे मियाँ छोटे मियाँ’ र ‘कंगुवा’ जस्ता ठुला बजेटका फिल्म भने बक्स अफिसमा फ्लप साबित भए ।