राजामौलीको फिल्मबाट प्रियङ्काको कम ब्याक

अभिनेत्री प्रियङ्का चोपडा भारतीय फिल्ममा कम ब्याकको तयारीमा रहेकी छन् । उनले एसएस राजामौलीको तेलुगु फिल्म साइन गर्दै कम ब्याकको तयारी गरेकी हुन् । यो फिल्म अफ्रिकी जङ्गल एडभेन्चरको कथावस्तुमा आधारित रहने भए पनि फिल्मको शीर्षक तय भइसकेको छैन ।

फिल्ममा महेशबाबु अनुसन्धानकर्ताको भूमिकामा देखिनेछन् । पिंकभिल्लाको रिपोर्टअनुसार ‘बाहुबली’ र ‘आरआरआर’को सफलतापछि एसएस राजामौली एउटा एपिक फिल्म बनाउन लागेका छन् ।

चोपडाले यो फिल्मको छायाङ्कन अप्रिल २०२५ बाट सुरु गर्नेछिन् भने महेश बाबुसँगको भागको छायाङ्कन सन् २०२६ मा हुने जनाइएको छ । छायाङ्कन भारतसहित अमेरिका र अफ्रिकाको जङ्गलमा पनि हुनेछ । यो फिल्म २०२७ मा रिलिज हुने तयारीमा छ ।

यो फिल्म पान-इन्डिया शैलीमा रिलिज हुनेछ । जुन हिन्दी, तमिल, मलयालम र कन्नड भाषाहरूमा पनि रिलिज हुनेछ । फिल्मका लागि एसएस राजामौली विश्वव्यापी रूपमा चिनिने अभिनेत्रीको खोजीमा थिए । पछिल्ला ५-६ महिनामा उनले प्रियङ्कालाई धेरै पटक भेटेर उनको नाम फाइनल गरेका हुन् ।

सन् २०२१ मा फरहान अख्तरले फिल्म ‘जी ले जरा’ घोषणा गरेका थिए, जसमा प्रियङ्का चोपडा, आलिया भट्ट र कट्रिना कैफ मुख्य भूमिकामा देखिने भनी पनि यो फिल्म बारे थप जानकारी बाहिर आउन सकेको छैन । तसर्थ धेरैले यही तेलुगु फिल्मलाई प्रियङ्काको कम ब्याक फिल्मको रूपमा हेरेका छन् ।