एक मितिमा दुई बढी फिल्म लगाउन नपाउने सहमति जुटाउने प्रयासमा सङ्घ
फिल्म निर्माण अगावै प्रदर्शन मिति तोक्न थालेका छन् नेपाली निर्माता । बिदालाई आफ्नो फिल्म प्रदर्शन गर्ने मिति बनाउनका लागि उनीहरू हतारोमा मिति बुक गरेर चुप बस्न थालेका छन् । तर यही बिदाको लोभका कारण धेरै निर्माताले एकै मितिमा सिनेमा लगाउन खोज्दा यसले व्यापारमा असर पर्न थालेको छ । एकै मितिमा दुई वटा सम्म सिनेमा रिलिज हुँदा नेपालका हलले धान्न सक्ने अवस्था रहे पनि दुई भन्दा बढी फिल्म हलमा लाग्दा शो बाडफाडमा समस्या आउने गरेको छ । अझ एकै मितिमा चलेका निर्माता निर्देशक र कलाकारको फिल्म आउँदा त चल्ने सम्भावना बोकेका फिल्मले पनि खुम्चिन पर्ने अवस्था छ । जसको कारण निर्माताले कमाउन सक्ने रकम समेत आफ्नो हातमा आउँदा आउँदै गुमाउँछन् ।
आगामी दशैका लागि मात्रै आधा दर्जन बढी फिल्मले आफ्नो प्रदर्शन मिति बुक गरिसकेका छन् र अझ थपिने क्रम जारी छ ।
यही विषयलाई ध्यानमा राख्दै फिल्म निर्माताहरूको संस्था निर्माता सङ्घले हाल भइरहेको एकै दिनमा धेरै सिनेमा कसरी रोक्न सकिन्छ भनी प्रक्रिया थालनी गरेको छ । त्यसैका लागि एउटा मितिमा दुई भन्दा बढी फिल्म प्रदर्शन गर्न नपाउने नियम बनाउनका लागि सङ्घ सहमति जुटाउन लागि परेको हो । निर्माता सङ्घका अध्यक्ष नवल खड्का एक दिनमा बढीमा दुई मात्र चलचित्र लगाउने विषयमा गृहकार्य भइरहेको बताउँदै वर्षमा १०४बडी फिल्म बनेको खण्डमा के गर्न सकिन्छ भनेर विकल्प खोजिरहेको बताउँछन् ।
सङ्घका तर्फबाट कार्यदल संयोजक रहेका उदय सुब्बा एकासाथ धेरै फिल्म हलमा लाग्दा निर्माता र हलवाला दुबैलाई घाटा रहेको बताउँदै कसरी मिलेर अघि बढ्ने बारे छलफल भइरहेको बताउँछन् ।
अब पुरानै अवस्थामा फर्कने सोचमा दुई सङ्घ पुगेका छन् । एक दशकभन्दा अगाडि एकै दिन दुईभन्दा धेरै नेपाली चलचित्र रिलिज गर्न नपाइने नियम चलचित्र सङ्घ र निर्माता सङ्घले आपसी सहमतिमा बनाएको थियो । सुब्बा अब फेरी यही अवस्थामा फर्किन पर्ने तर्फ सोच्न थालेको बताउँछन् । चलचित्र सङ्घका तर्फबाट संयोजक तोकिएका गोपालकाजी कायस्थ एक दिनमा दुई भन्दा बढी फिल्म लगाउँदा निर्माताले लामो समय कुर्न परेको गुनासो गरेपछि उक्त नियम हटाइएको बताउँछन् ।
यसरी फिल्म एकसाथ लगाउन नपाइने भएपछि निर्माता आफ्नो लगानी लामो समय होल्ड हुने डरले पनि लगानी गर्दा सोच्ने छन् कि ? आफ्नो रहर पुरा गर्न फिल्ममा लगानी गर्ने निर्माताको सङ्ख्यामा पनि कमी आउने थियो कि ?
प्रतिक्रिया