कार्साङको गीत ‘सात भन्ज्यांग’ सार्वजनिक

काठमाडौँ । प्रदर्शन संघारमा रहेको फिल्म ‘कार्साङ’को हतार हतार गरी खिचिएको गीत ‘सात भन्ज्यांग’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार दयाहांग राई र सिर्जना निङ्लेकुलाई देख्न सकिन्छ । डिपी खनालले लेखेको गीतमा एसडी योगी र रेश्मा पुन मगरको स्वर रहेको छ । योगी कै सङ्गीत रहेको गीतमा अभि लामाको कोरियोग्राफी रहेको छ ।

सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी छन् । नवनायिकाका रूपमा सृजना र छिरिङले यही फिल्म मार्फत डेब्यु गर्दै छन् । फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुङ्गाना र सृष्टि ढुङ्गानाको पनि अभिनय रहेको छ । फिल्मलाई यम शेर्पाले निर्देशन गर्दै छन् । यो उनको डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनको पटकथा तथा संवाद छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

छायांकार समेत रहेका पुरुषोत्तम प्रधान फिल्मका निर्माता हुन् । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् । मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् सङ्गीतकार विश्व दोङ सङ्गीत निर्देशक रहने फिल्मको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्सन म्यानेजर छन् ।