अवार्ड दिन स्टेजमा बोलाइयो, तर पूजा र पुष्पले ‘इग्नोर’ गरे

शुक्रबार दिउँसो काठमाडौंमा आयोजना गरिएको ‘सातौं सिने सर्कल’ अवार्डमा थुप्रै कलाकारहरू पुगे । अधिकांश कलाकारहरूले अवार्ड कार्यक्रममा पुगेर रमाइलो गरे । कार्यक्रम आयोजना गरेका निर्देशक तथा कलाकार दिनेश डीसीले बिहिबार बेलुका नै फोन गरेर अवार्ड वितरणका लागि अतिथीहरुलाई निम्तो समेत दिएका थिए । निम्तो दिएका अतिथिमध्ये नायिका बेनिशा हमाल मध्ये अरु सबै पुगेका थिए ।

नायक आर्यन सिग्देल भने छोरा बिरामी भएका कारण अवार्डको बीचमै निस्किएका थिए । आयोजकका अनुसार, उनी जानकारी गराएरै हलबाट बाहिरिएका रहेछन् । 

अवार्ड वितरण गर्नका लागि नायिका पूजा शर्मा र नायक पुष्प खड्कालाई पनि बोलाइएको थियो । उनीहरू कार्यक्रमको सुरुवातमै हलमा पुगेका थिए । उनीहरू, एकसाथ बसे । मुख्य नायक र नायिकाको अवार्ड वितरणका लागि  उनीहरुलाई ‘अतिथि व्यवस्थापन’को जिम्मा सम्हालेका पत्रकार डब्बु क्षेत्रीले कैयौं पटक आग्रह गरे । उनले ‘तपाइहरुको नाम सूचीमा छ, अगाडि आइदिनुहोला’ भनेर बारम्बार आग्रह गरेका थिए ।

सुरुवातमा दुबैले आफूहरू स्टेज नचढ्ने बताए । पछि, कहिले झ्याउ लागेको त कहिले स्टेजमा जाने जस्तो पहिरन नलगाएको भन्दै बहाना गरे । डब्बु क्षेत्रीले बारम्बार तपाइहरुको नाम छ, हिडिदिनुहोस् भन्दा पनि उनीहरू जान मानेनन् । यतिसम्म कि, उनीहरुले क्षेत्रीलाई कहिले यो व्यक्तिलाई लैजानुहोस्, कहिले त्यो व्यक्तिलाई लैजानुहोस् भन्दै जिस्किएका थिए । 

बारम्बारको आग्रहपछि पनि पूजा र पुष्प उठेनन् । यसपछि, हैरान भएर डब्बु स्टेजमा गए र कार्यक्रम संचालक तथा आयोजक दिनेश डीसीलाई जानकारी गराएका थिए । 

पछि यो अवार्ड, शिव श्रेष्ठ, भुवन चन्द लगायतका कलाकारहरूले वितरण गरेका थिए । वुझिएअनुसार, पुष्पलाई ‘उत्कृष्ट नायिका’ र पूजालाई ‘उत्कृष्ट नायक’को अवार्ड वितरणका लागि स्टेजमा बोलाइएको थियो । आयोजकले उनीहरुलाई बुधबार बेलुका नै यो विषयमा जानकारी पनि गराएको थियो । 
पूजा र पुष्पको यस्तो क्रियाकलाप वरिपरीबाट हेरिरहेका अतिथि र पत्रकारहरूले पनि यसलाई निको मानेनन् । पूजा र पुष्प भन्दा पनि सिनियर कलाकारहरू स्टेजमा पुगेर अवार्ड वितरण गरे ।

तर, उनीहरुले आयोजकको बारम्बारको आग्रहलाई ‘इग्नोर’ गरेका थिए । पूजा र पुष्पजी, यस्तो शैलीले कहाँसम्म पुगिएला खै ?