विकिनी देखाएरै फिल्म चलाउने हो घनश्यामजी ?

फिल्म रिलिजको एक साता मात्र बाँकी रहँदा पनि ‘लण्डन टू पेरिस’को हाइप बढ्न सकेको छैन । कलाकारहरू फिल्म प्रमोसनमा दौडधूप त गरिरहेका छन् ।

तर, यो फिल्मको प्रचारका लागि बजारमा सार्वजनिक गरिएको सामग्रीले दर्शकको दिमागमा स्थान बनाउन सकिरहेका छैनन् । यही कारणले गर्दा फिल्म ‘लण्डन टू पेरिस’का मेकरलाई हैरानी भइरहेको छ ।

फिल्मका एकपछि अर्को रुपमा सार्वजनिक गीतमा दर्शकको मन नै बस्न सकेको छैन । आधुनिक फिल्मको नाममा निर्देशक घनश्याम लामिछानेले यसपटक नायिकालाई विकिनी लगाएर नचाएका छन्, नायकलाई नायिकासँगको रोमान्समा घुमाइरहेका छन् । आज मात्र सार्वजनिक भएको गीत ‘सुबी डु’ निकै कमजोर छ । 

५ घन्टामा ६ हजार मात्र भ्यूज पाएको यो गीतलाई दर्शकले नकारात्मक प्रतिक्रिया बढी दिएका छन् । 

पारिवारिक फिल्म बनाएर चर्चामा आएका निर्देशक घनश्याम लामिछाने यसपटक लण्डनदेखि पेरिसको कथा खोज्न त पुगे, तर उनले आधुनिकताको नाममा रोमान्स मात्र भेटेको आभाष हुन थालेको छ । 

फिल्मको टिजर, ट्रेलर र गीतले नै दर्शकको मन नछोएपछि फिल्मलाई अब निर्माणपक्षले कुन आधारमा चलाउला हेर्न बाँकी छ । 

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि फिल्मको कथावस्तु आफूले यसअघि गरेका फिल्मको भन्दा फरक नरहेको बताइसकेकी छिन् । नयाँ नायक निश्चल खड्का यो फिल्मबाट उदाउनेमा आशावादी त छन् । तर, सार्वजनिक प्रचारका सामाग्रीले उनलाई यो क्षेत्रमा उदाउन सहज छैन भन्ने देखाइसकेको छ । 

जेठको २५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा साम्राज्ञी र निश्चलको चुम्बन, बेडसिनको प्रचार बढी छ । के यसपटक निर्देशक लामिछानेले यस्तै दृश्य र विदेशको दृश्य देखाएर फिल्म चलाउने सोच बोकेका हुन् त ?