के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?

निर्माता रोहित अधिकारीले आफू निर्मित तेस्रो फिल्म ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा रहेको उल्लेख गरेका छन् । सामाजिक संजालमा उनले आफू निर्मित फिल्म ‘गाजलु’ सुपरहिट भएको, ‘छ माया छपक्कै’ ब्लकबस्टर भएको भन्दै उनले अब तेस्रो फिल्म ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा रहेको उल्लेख गरेका छन् । 

यो फिल्मले एक सातामा कति कमाइ गर्यो भन्ने आँकडा सार्वजनिक भएको छैन । तर, फिल्मले रिलिजको पहिलो दिनदेखि नै बक्स अफिसमा दबदबा कायम गरेको छ । फिल्मले बिहिबार आक्रामक ओपनिङ गरेको थियो । शुक्रबार फिल्मको व्यापार ठीकठाक हुँदा शनिबार फेरि बिष्फोटक व्यापार गर्यो । आइतबार र सोमबार फिल्मको व्यापार ठीकठाक रह्यो।

मंगलबारको व्यापार फेरि ब्लकबस्टर रह्यो । आज बुधबार पनि फिल्मले आक्रामक कमाई गरिरहेको छ । उत्कृष्ट वर्ड अफ माउथ, नायक अनमोल केसीको स्टारडम, ट्रेलरको हाइपका कारण फिल्मको व्यापार उच्च देखिएको छ । 

नेपालमा मात्र होइन, यो फिल्मले विदेशी बजारमा पनि आक्रामक कमाई गरिरहेको छ । नायक अनमोल केसीको विदेशी बजारमा क्रेज छैन भन्ने चर्चा चलिरहँदा यो फिल्मले आक्रामक कमाई गरिरहेको छ । 

यो फिल्मले दोस्रो सातामा पनि सुखद कमाई गर्ने प्रक्षेपण गर्न सकिन्छ । दर्शकले फिल्म मन पराएका कारण लामो रेशको घोडा बन्ने संकेत देखिएको छ । 

सुयोग गुरुङ निर्देशित यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धी अर्याल लगायतका कलाकारको अभिनय छ ।