‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन फ्रान्स उडे मेयर बालेन

कान्स फिल्म फेस्टिभलको ७७ औं श्रृङ्खलामा सहभागी हुनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फ्रान्स प्रस्थान गरेका छन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी मंगलबार बिहान २ः १५ बजेको विमानबाट महोत्सवका लागि प्रस्थान गरेका हुन् । बालेनको साथमा उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि फ्रान्स प्रस्थान गरेका छन् । 

कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रियटिभ सिटी’को फिल्म विधाका सदस्य नगर हुन् । महानगर प्रमुख शाह महोत्सवका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनले मेयर लिसनार्ड र महोत्सवका निर्देशकसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । 

मेयर शाह रेड कार्पेट र प्रिमियर कार्यक्रममा पनि सहभागी हुने बताइएको छ । यस्तै, उनले अडियो र भिडियो कन्टेन्ट क्रियशन चेनका अवलोकन पनि गर्ने कार्यक्रम छ । 

मेयर शाहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना पनि गर्ने तयारी गरिएको छ । यो फेस्टिभल १२ दिनसम्म चल्नेछ ।

मेयर शाह भने महोत्सवको ३ दिनको कार्यक्रममा सहभागी हुनेछन् । उनी जेठको ७ गते नेपाल फर्किने कार्यक्रम छ ।