चलेका मेकरलाई दशैंको लोभ, २०८३ सम्म प्याक

नेपाली फिल्म मेकरलाई दशैं र तिहारमा फिल्म रिलिज गर्ने लोभ छ । यही लोभका कारण दशैं र तिहारलाई लक्षित गरेर पहिले नै प्रदर्शन मिति तोक्ने गरिन्छ । तर, यसपटक केही अनौठो भएको छ । 

अन्य समयमा एक वर्षपछिको दशैंमा मात्र निर्माताहरुको ध्यान जान्थ्यो । तर, यसपटक भने लगातार तीन वर्षसम्मको दशैँसम्म मेकरको ध्यान गएको छ । यसरी, लगातार तीन बर्षको दशैं बुक गर्नेमा नाम चलेका मेकर नै छन् । 

आउँदो बर्षको दशैंमा अहिलेसम्म तीन फिल्म रिलिज हुने पक्का भइसकेको छ । अब, यी तीन फिल्म एकसाथ जुध्छन् या मिलाएर फिल्म रिलिज गरिन्छ हेर्न बाँकी छ । आउँदो बर्षको दशैंमा ‘छक्का पन्जा ५, बलिदान र बेहुली फ्रेम मेघौंली’का मेकरले मिति पक्का गरेका छन् । 

यी तिनै फिल्मका मेकर नाम चलेका हुन् । दीपकराज गिरी, निश्चल बस्नेत, सन्तोष सेन जस्ता निर्माताले फिल्म रिलिज गर्ने पक्का गरेका हुन् । 

तर, यसपटक रोचक के भएको छ भने वि.सं २०८२ सालको दशैं पनि बुक गरिएको छ । यसपटक षट्कोण आर्टसले यो मिति बुक गरेको हो । अरु बेलामा सामान्य समयमा फिल्म रिलिज गर्दै आएको यो ब्यानरले यसपटक भने दशैँलाई ताकेको छ र डेढ बर्ष अगाडि नै प्रदर्शन मिति घोषणा गरेको छ । 

वि.सं २०८३ सालको दशैंमा निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब २’ घोषणा गरिसकेका छन् । निश्चलको फिल्म ‘दिमाग खराब’ यो बर्षको तिहारमा रिलिज भएको थियो । जसले व्यापारिक रुपमा सफलता पनि कायम गरेको थियो ।

यसरी हेर्दा, नाम चलेका मेकरको लागि मात्र दशैंको बिदा फलिफाप भएको देखिन्छ । नाम चलेका मेकरले दशैंमा फिल्म रिलिज गर्दा अन्य निर्माताले लामो सार्वजनिक बिदाको फाइदा उठाउन सकेका छैनन् ।