दयासँगको केमेष्ट्रीबारे आँचल भन्छिन्–‘यो उमेरको कुरा होइन, इनर्जीको कुरा हो’

नायिका आँचल शर्माले पहिलो पटक नायक दयाहाङ राईसँग फिल्म ‘डिग्री माइला’मा जोडी बाँधेकी छिन् । उसो त आँचलले दयासँग फिल्म ‘दुःखी आत्मा’मा पनि काम गर्दैछिन् । फिल्मको ट्रेलरमा दया र आँचलको प्रेम, झगडा र आत्मियताको कुरा देखाइएको छ । 

मिडियाकर्मीको एक प्रश्नमा आँचलले भनिन्–‘मलाई त उहाँ योङ लाग्छ त । यो उमेरको कुरा नै होइन । यो इनर्जीको कुरा हो । उहाँ भित्र जुन खालको इनर्जी र कामप्रतिको लगाव छ त्यो गज्जब छ ।’

आँचलले दयाको सहयोगी भावनाको पनि खुलेरै प्रशंसा गरिन् । भनिन्–‘आफ्नो सह–कलाकारलाई कसरी सहयोग गर्ने र सहज बनाउने भन्ने विषयमा उहाँलाई राम्रोसँग थाहा छ । एकदमै सरल स्वभावको हुनुहुन्छ । यसैले, मलाई उहाँ निकै मनपर्छ ।’

दयाले पनि आँचलको कामको खुलेरै तारिफ गरे । नेपाली फिल्म क्षेत्रमा दयाहाङको जोडीको रुपमा मिरुना मगरको चर्चा बढी हुने गर्दछ । तर, ‘डिग्री माइला’ चलेको खण्डमा आँचलसँग पनि दयाको जोडी जम्न सक्छ । 

रामबाबु गुरुङ निर्देशित यो फिल्मले थर्ड डिभिजनमा डिग्री पास गरेको गफाडी पात्रको कथा भन्छ ।