एक्सनतर्फ कोल्टिदै नेपाली फिल्म

नायक प्रदीप खड्का फिल्म ‘ऐरी’को लागि एक्सन सिकिरहेका छन् । जीवन थापाले निर्देशन गर्ने यो फिल्मको छायांकन चैत्र महिनाबाट सुरु हुँदैछ । यो फिल्मका लागि प्रदीपले एक्सनमा कडा मिहिनेत गरिरहेका छन् । फिल्म ‘प्रकाश’का लागि अनुप बरालसँग अभिनय नै सिकेका प्रदीप, ‘ऐरी’का लागि एक्सन सिकिरहेका छन् । 

प्रदीपले साइन गरेका ५ फिल्म मध्ये ३ फिल्ममा उनले एक्सन नै गर्नुपर्नेछ । फिल्म ‘पिताम्बर’ पनि पूर्ण रुपमा एक्सन प्रधान छ । फिल्मका एक्सन निर्देशक श्री श्रेष्ठका अनुसार, फिल्म भित्र थुप्रै एक्सनका दृश्य छन् जसले दर्शकलाई नयाँ अनुभव दिन सक्छ । प्रदीपले फिल्म ‘रावायण’ पनि साइन गरेका छन् । जहाँ, उनी दोहोरो भूमिकामा देखिदैछन् । यो फिल्ममा पनि प्रदीपले एक्सन नै गर्नुपर्नेछ । यसरी हेर्दा, प्रदीपको पाइपलाइनका ५ फिल्ममध्ये तीन फिल्म एक्सनमा केन्द्रित छन् । 

लभ स्टोरी फिल्ममा जमिरहेकी नायिका पूजा शर्माले ‘दान्भी’ फिल्ममा भरपूर एक्सन गरिन् । यो फिल्मको टिजर सार्वजनिक भएपछि पूजाको कामको तारिफ भइरहेको छ । फिल्मले चर्चा पाउनुको पछाडि यसमा समावेश बुलन्द एक्सनका दृश्यहरु नै हुन् । यसमा पनि एक्सन निर्देशक श्री श्रेष्ठले पूजाका लागि विशेष एक्सन कोरियोग्राफी गरेका छन् । 

विगत एक दशकदेखि राजनीतिक र सामाजिक कथावस्तुमा रुमल्लिरहेको नेपाली फिल्म क्षेत्रले अब लय फेर्ने संकेत गरेको छ । एक दशकदेखि विशेषगरि, नेपाली फिल्मबाट एक्सन र लभ स्टोरी हराए जस्तै भएको थियो । फिल्म क्षेत्रले अर्गानिक कथा भन्दै राजनीतिलाई बढी समातिरहेको छ । अब, यो शैली विस्तारै फेरिँदैछ । 

फिल्म ‘दिमाग खराब’लाई पूर्ण रुपमा राजनीतिक कथावस्तुमा भनेका निर्देशक निश्चल बस्नेतले अब अर्को फिल्मलाई पूर्ण रुपमा एक्सनमा केन्द्रित गर्ने बताइसकेका छन् । आउँदो बर्षको दशैँ अगाडि नै छायांकन सक्ने भनिएको निश्चलको फिल्मले एक्सनमा अर्को तरंग ल्याउन सक्छ । 

फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को टिजर सार्वजनिक भएसँगै चौतर्फी तारिफ बटुलिरहेको छ । सौगात मल्ल र नाजिर हुसेनको एक्सन शैलीले दर्शकको मन जितेको छ । यो फिल्ममा पनि श्री श्रेष्ठको एक्सन निर्देशन छ । श्रीले यो फिल्मको टिजरमा धेरै एक्सनको दृश्य समावेश नभएको भन्दै फिल्ममा दर्शकले एक्सनका नयाँ प्रयोगहरु हेर्न पाउने बताए । 

नेपाली फिल्म क्षेत्रमा एक्सनकै कारण तहल्का मच्चाएका नायक विराज भट्ट नयाँ फिल्म ‘१२ गाउँ’ निर्देशन गर्दैछन् । यो फिल्मबाट उनले आफ्ना छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन् । समीरले दक्षिण भारतमा रहेर एक्सन, नृत्य, अभिनय, मार्सल आर्टको तालिम लिइरहेका छन् । यो फिल्मलाई पनि भरपूर एक्सनमा बनाउने तयारी विराजको छ । 

म्युजिक भिडियो निर्देशन गर्दै फिल्म निर्देशनमा होमिन लागेका माइकल चन्दले बनाउन लागेको फिल्म ‘राम नाम सत्य’ पनि एक्सन केन्द्रित छ । यो फिल्म भित्र भरपूर एक्सन हुने निर्देशक चन्द बताउँछन् । 

लभ स्टोरी फिल्म बनाइरहेका निर्देशक तथा निर्माता सन्तोष सेन ‘बलिदान’ बनाउँदैछन् । यो फिल्मका लागि उनी गम्भीर रुपमा काम गरिरहेका छन् । सन्तोषको यो फिल्मले पनि राजनीतिक विषयवस्तुलाई एक्सनसँग जोडेको छ । फिल्मका मुख्य नायकले एक्सनका लागि कडा मिहिनेत गर्नुपर्ने सन्तोष बताउँछन् । फिल्ममा सौगात मल्ल र अर्पण थापा जोडिसकेका छन् । 

फागुनको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’ले वीर गोर्खालीहरुको वीरताको कथा भन्छ । मलायाको जंगलमा गोर्खाली सेनाले देखाएको वीरताको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । फिल्मलाई वास्तविक युद्धको शैलीमा खिचिएको मिलन बताउँछन् । यो फिल्मले पनि एक्सनलाई विशेष स्थान दिएको छ । 

गत बर्षबाट बलिउडले एक्सनलाई केन्द्रमा राखेको छ । साउथका एक्सन फिल्महरू सधैं दर्शकको नजरमा पर्ने गरेका छन् । बलिउड र साउथले धमाधम एक्सन केन्द्रित फिल्महरू बनाउन थालेपछि नेपाली मेकरहरु पनि त्यतातर्फ लोभिएका छन् ।

दर्शकले पनि एक्सन फिल्ममा नै बढी रुची राख्न थालेपछि नेपाली फिल्मका मेकरले आफ्नो शैली परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । जसकाकारण, आउँदो बर्ष नेपाली फिल्मले एक्सनको लयलाई बलियोसँग समात्ने देखिएको छ ।