राजकुमार हिरानीको फिल्ममा ‘ट्वेल्थ फेल’का विक्रान्त

बलिउडमा निर्देशक राजकुमार हिरानीको बेग्लै पहिचान छ । उनले निर्देशन गरेका सबैले फिल्मले दर्शकको राम्रो साथ पाएका छन् । उनले, निर्देशन गरेका फिल्मको कथावस्तुले दर्शकको मनलाई छुने गरेको छ । यसैले, उनले निर्देशन गरेका फिल्ममाथि दर्शकको भरोसा पनि गजबको छ । 

उनै, हिरानीले फिल्म ‘डंकी’पछि नयाँ फिल्म निर्देशन गर्दैछन् । यसपटक भने उनले ओटीटीका लागि फिल्म निर्देशन गर्न लागेका हुन् । ओटिटी प्लेटफर्ममा हिरानीको यो डेब्यू फिल्म हुनेछ । 

फिल्मको नाम तय भएको छैन । तर, फिल्ममा नायक विक्रान्त मासीले काम गर्ने पक्का भएको छ । विक्रान्तले अभिनय गरेको ‘ट्वेल्थ फेल’ नामक फिल्मले विगत केही समयदेखि निकै चर्चा पाइरहेको छ । यो फिल्मलाई दर्शक र समीक्षक दुबैले मन पराएका छन् । 

अब, हिरानीको फिल्ममा विक्रान्तले काम गर्दा यसले पाउने चर्चा पनि गजबको हुनेछ । ओटीटीका लागि हिरानी र विक्रान्तको केमेष्ट्रीले ठूलो दर्शक पाउने अनुमान गर्न सकिन्छ ।